सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। यस्तै, सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
राजनीति : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका विकास प्राधिकरणले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ । यस्तै, सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ। शुक्रबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधान न्यायाधीशका लागि सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरेको हो। यता, परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ । मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताए। यता, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । यता, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन् ।
समाचार : कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुम्बासीहरु उपस्थित भएका छन् । यस्तै, पूर्वमहान्याधिवक्ता रमेश बडालले वर्तमान सरकार सत्ता कब्जाको दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् । नेपाल बार एसोसिएसनको संवैधानिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार स्थापित संयन्त्रलाई कमजोर बनाउने बाटोमा लागेको टिप्पणी गरे । यता, प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृण विश्वकर्माले न्याय नपाउन्जेल आफूहरुले संघर्ष गर्ने जेनजी युनाइटेडले जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारको जाहेरी दर्ता नगर्नुले यातना दिएर हत्या गरिएको हुन सक्ने समेत आशंका गरेको छ । यस्तै, मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ निवासी ४१ वर्षीया टोमा लामा मुगु कर्णाली नदीमा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार श्रीमान् पेमा तोर्चे लामाकी पत्नी टोमा लामाको शव रिउस बगरस्थित मुगु कर्णाली नदीको बीच भागमा शुक्रबार फेला परेको हो ।
अपराध : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध रु चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायबसुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार घुस मागेको अभियोग लागेको छ । आरोपी नायबसुब्बालाई आयोगले घुस रकमसहित केही दिन पहिले पक्राउ गरेको थियो । यता, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
अर्थ : धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि स्रोत जुटेको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको हो । यस्तै, यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ बिन्दुमा कायम भएको छ । यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो । यता, सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण सुरु भएको ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय जनताको हितलाई ध्यानमा राखेर प्रमोटर सेयरमा समेट्ने भएको छ । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्कीले आयोजना प्रभावित व्यक्तिहरूले सहज रूपमा लगानी गर्न पाउने गरी सेयर संरचना तय भइरहेको जानकारी दिए । यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी अध्यादेश जारी गर्दा अभियानसँग पर्याप्त छलफल गर्न नसकेको स्वीकार गरेका छन् । उनले संसदको नियमित प्रक्रियाबाट ऐन संशोधन गर्न लामो समय लाग्ने भएकाले अध्यादेश ल्याउनु परेको बताएका हुन् ।
खेलकुद : एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो । अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा गर्यो । यता, सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ आजदेखि सुरु भएको छ । सुर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा सुरु भएको प्रतियोगितामा जिल्लाभरिबाट २८ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।
विश्व : अप्रिलमा अमेरिकी रोजगार दरमा अपेक्षा गरेभन्दा बढेको र बेरोजगार दर स्थिर रहेको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले हालसालै श्रम बजारको लाभलाई बलियो बनाएको छ, यद्यपि विश्लेषकहरूले अन्तर्निहित कमजोरीको चेतावनी दिएका छन्। यता, इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाइ उदृत गर्दै एएफपीले जनाएको छ । अधिकारीका अनुसार बेपत्ता हुनेहरुमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् ।यस्तै, संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने प्रयासका क्रममा इरानी शक्तिहरूमाथि कारबाही गरेको जनाएको छ । यस घटनाले क्षेत्रीय तनावलाई थप बढाएको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) पनि आक्रमणको चपेटामा परेको बताइएको छ ।

