Harsamaya
वैशाख २४: विमानस्थल भ्रष्टाचारमा १४ जनाविरुद्ध मुद्दा दायरदेखि संवैधानिक परिषद् सदस्यद्वयको ‘नोट अफ डिसेन्ट’सम्म
ग्राफिक्स : हर समय/Har Samaya

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट जम्मा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० हिनामिना गराएको पुष्टि भएको अख्तियारको दावी छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा यसपटक लामो समयदेखि कायम वरिष्ठताको परम्परा तोडिएको छ । संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई छाड्दै चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो । यता, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले वरिष्ठता क्रमभन्दा बाहिर गई  प्रधानन्यायाधीशमा डा. शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद् सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । यस्तै, सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित गर्दै सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । बिहीबार बसेको समितिको दोस्रो बैठकले सुनुवाइ अवधि, उजुरी दिने समयसीमा तथा सुनुवाइपछि हुने अनुगमनसम्बन्धी नयाँ व्यवस्था समेटिएको कार्यविधि अनुमोदन गरेको हो । यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मन्त्री यादवले घरेलु कामदारका रूपमा विदेश जान श्रम स्वीकृति बन्द गर्ने विषय प्रतिनिधिसभाबाट समितिमा आएको जानकारी दिँदै अध्ययनका क्रममा अधिकांश महिला श्रमिक कानुनी प्रक्रियाबाहिर गएर काम गरिरहेको पाइएको बताए । 

समाचार :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक नुवाकोटको ताँदी गाउँपालिका–६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दीमा कार्यरत ३६ वर्षीय प्रहरी सहायक हवल्दार  किरण श्रेष्ठको मृत्यु भएको हो । यता, नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बीएडी ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो । माथिबाट खसेको ढुङ्गा गाडीको इन्धन ट्याङ्कीमा लाग्दा ठोक्किएर आगलागी भएको र गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ। यस्तै, काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् । अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । 

अपराध : कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भइ कीर्तिपुर वर्ष २५ का महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगा बस्ने वर्ष २३ का रवीन्द्र धामी  र कैलालीको घोडाघोडी घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने वर्ष २२ का रोशन बिष्ट रहेका छन् । यता, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो । यता,  म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जङ्गलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो । 

खेलकुद : आजदेखि सुरुआत भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो । यता, कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा सञ्चालन हुने सातौँ संस्करणको जुम्ला-रारा-अल्ट्रा म्याराथन प्रतियोगिताको सबै तयारी पूरा भएको छ । यही वैशाख २६ गते सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

विश्व : मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र परेको संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक मामिला हेर्ने सङ्गठनले जनाएको छ । इरानले गरेको नाकाबन्दीका कारण करिब एक हजार ५०० जहाज र तिनका चालक दलका सदस्यहरू खाडीमा फसेका छन् । यस्तै, बेरुतको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा हिजबुल्लाहका रादवान युनिटका कमान्डर अहमद बलुत मारिएको इजरायलले दाबी गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ) का अनुसार यस कारबाहीमा नासिर युनिटका गुप्तचर प्रमुख मोहम्मद अली बाजी र हवाई सुरक्षा निगरानी अधिकारी हुसेन हसन रोमानी पनि मारिएका छन् ।  यता, संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय निकायका अनुसार गाजामा रहेका २१ लाख मानिसहरू अहिले पनि गाजा क्षेत्रको आधाभन्दा कम भूभागमा सीमित भएर बस्न बाध्य छन् । संयुक्त राष्ट्रसङ्घले जनाएको अनुसार मानिसहरूले गाजाका धेरै भागहरूमा पहुँच पाउन सकेका छैनन्, जहाँ खेतीयोग्य जमिन र अत्यावश्यक पूर्वाधारहरू रहेका छन् । उनीहरू विदेश जान वा विशेष स्वास्थ्य सेवा उपलब्ध हुने पश्चिमी किनारा क्षेत्रमा पुग्न समेत असमर्थ छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update