Harsamaya
वैशाख २३:  प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्तदेखि दुई बालकको डुबेर मृत्युसम्म
ग्राफिक्स : हर समय/Har Samaya

सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज नेपाल निजामती सेवा ऐन, २०७४ अनुसारका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेका हुन् । यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो। यस्तै,  नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् । बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीस बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । यता, नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताए ।

समाचार : बागमती प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ । यस्तै, रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए । यता, विगतका सरकार तथा कानुन संवत सुकुम्बासी बस्तीहरुमा अवैधानिकरुपमा डोजर चलाएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीमा भएको कार्यक्रममा उनिहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन् ।

अपराध : अवैध ढंगले भेरी नदीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने १७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भेरी नदीमा अवैध रुपमा वालुवा संकलन गरिरहेका र १२ टिपर, दुई ट्याक्टर, दुई जेसीभी र १ एक स्काभेटरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले जानकारी दिए । यता, सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन)मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिवाना गरेको छ । यस्तै, वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले तरकारी परिक्षणमा कडाई गरेको छ । दिनहुँ नगरपालिकामा बिषादी प्रयोग गरिएका तरकारी सहजै कर्णालीबासीको भान्सामा पुग्ने गरेका छन् । यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ । आज दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

खेलकुद : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । बिहीबारदेखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन् । यता, वैशाख २६ गतेदेखि सञ्चालन हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक गरिएको छ । सातौ संस्करणमा पुगेको म्याराथुनको ट्रफी र मेडल जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेस्ट म्याराथन ह्याट्रिक विजेता धावक हरिबहादुर रोकायाले संयुक्त सार्वजनिक गरेका हुन् । प्रतियोगिताको पाँच किलोमिटर दौडमा ६ सय विद्यार्थीले भाग लिने आयोजकले जनाएको छ।

विश्व : विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अफगानिस्तानमा मातृ मृत्यु दर अत्यन्तै चिन्ताजनक स्तरमा पुगेको छ । प्रत्येक एक लाख जीवित जन्ममा करिब ५२१ जना महिलाको मृत्यु हुने गरेको देखिएको छ, जुन विश्वकै सबैभन्दा उच्च दरमध्ये एक मानिन्छ । यो अवस्था मुख्य रूपमा गर्भावस्था र प्रसूतिकालमा देखिने जटिलताहरू समयमै उपचार नपाउनु, स्वास्थ्य सेवामा सीमित पहुँच र कमजोर स्वास्थ्य संरचनाका कारण उत्पन्न भएको बताइएको छ । यता, संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति भएको बताइएको छ । यो प्रस्तावित सम्झौता दुवै पक्षबीचको युद्ध अन्त्य गर्ने र भविष्यमा आणविक विषयमा विस्तृत वार्ताको आधार तयार गर्ने लक्ष्यसहित अघि बढाइएको छ । यस्तै,  इरानले विश्वकै अत्यन्त रणनीतिक जलमार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब उक्त जलमार्ग हुँदै जाने सबै जहाजहरूले पूर्वस्वीकृति (ट्रान्जिट परमिट) अनिवार्य रूपमा लिनुपर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update