Harsamaya
विज्ञान र नवप्रवर्तनमा सरकारको ध्यान नपुगेको महावीर पुनको टिप्पणी
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुन ।

काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नवप्रवर्तनलाई केवल उद्योग मन्त्रालयसँग जोडेर हेर्ने प्रवृत्ति गलत भएको बताएका छन्।  ‘अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनसम्बन्धी काम गरेको जस्तो खासै देखिँदैन,’ उनले उल्लेख गरेका छन्।

पुनले विज्ञान तथा प्रविधि मन्त्रालयको भूमिकाप्रति पनि प्रश्न उठाउँदै त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको आरोप लगाएका छन्।

नवप्रवर्तनलाई उद्योगमा मात्र सीमित गर्ने होइन, राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, विज्ञान, साहित्यलगायत सबै क्षेत्रमा लागू गर्नुपर्ने उनको भनाइ छ।

उनले सरकारका निकायहरूले व्यापक दृष्टिकोण अपनाएर नवप्रवर्तनलाई बहुआयामिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, आफ्नो धारणा राख्दा आलोचनालाई व्यक्तिगत रूपमा नलिन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update