Harsamaya
वैशाख २० : सरकारले लिपुलेकबारे कूटनीतिक नोट पठायोदेखि राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्तासम्म
ग्राफिक्स : हर समय/Har Samaya

राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।  नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यस्तै राष्ट्रपतिले पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनर्विचारका लागि मन्त्रिपरिषद्मा फिर्ता पठाएका छन् । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
 
राजनीति : नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ ।सो विषयका सम्बन्धमा आज पुनःस्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको जनाएको हो । यता, विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा उक्त व्यवस्था गरिएको छ । 

समाचार : सरकारले बागमती नदी र यसका सहायक नदी किनारका जोखिमपूर्ण तथा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान तीव्र पारेको छ ।अभियानअन्तर्गत हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १,८१६ परिवार (७,७८९ जना) सरकारको सम्पर्कमा आएका छन्। तीमध्ये ७९४ जनालाई अस्थायी व्यवस्थापनका लागि विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । यता, देशका विभिन्न भागमा भएका आगलागीका घटनामा ३२ लाख बराबरको धनमाल जलेको छ । रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा शनिबार भएका आगालागीका घटनामा उक्त रकम बराबरको धनमान नष्ट भएको हो । यस्तै,  सगरमाथा आधार शिविर नजिकै सेभेन समिटसँग आवद्ध गाइड लाक्पा डेन्डी शेर्पाको आइतबार निधन भएको छ । सोताङ गाउँपालिका–४ का ५२ वर्षीय शेर्पा आइतबार करिब १२ बजे आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । यता, नेपाल वायुसेवा संचालक संघले सरकारसँग विभिन्न राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो । यता, मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाहप्रति लक्षित टिप्पणी गरेका हुन् । उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।

अपराध : रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै मल–मूत्र खुवाएर अमानवीय व्यवहार गरिएको जघन्य घटना सार्वजनिक भएको छ। कटहरिया नगरपालिका वडा नं. ९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका थिए। यता, हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । खार्पुनाथ–४ का ६३ वर्षीय मक्कबहादुर रोकाया भरूवा बन्दुक एक थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

खेलकुद : सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिताको उपाधि राम जोहरा र राजेन्द्र बमको जोडीले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा राम र राजेन्द्रको जोडीले भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै रु ४४ हजार ४४४ नगद, ट्रफीसहित उपाधि जितेको हो । यता, पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बलाई ‘पेनाल्टी सुटआउट’मा ५-४ गोलले पराजित गर्दै पुलिस ‘च्याम्पियन’ बन्न सफल भएको हो । यस्तै, नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग (केपीएल) सिजन ३ आगामी जेठ ९ गते (मे २३) देखि सुरु हुने भएको छ । आयोजकले प्रतियोगिताको औपचारिक उद्घाटन मिति सार्वजनिक गरेको हो ।

विश्व : आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौँ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ । यता, भारतको पश्चिम बङ्गाल, असम, केरला र तामिलनाडुको विधान सभा निर्वाचनको मतगणना सोमबार हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । राज्यमा विधानसभाका लागि पश्चिम बङ्गाल, असम, केरला र तामिलनाडुको चुनाव दुई चरणमा अप्रिल २३ र अप्रिल २९ मा भएको थियो भने मतगणना निर्वाचनको मिति घोषणा गरेकै दिन मे ४ अर्थात् सोमबारका लागि तय गरिएको थियो । यस्तै आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौँ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update