राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गरेका हुन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
समाचार : काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ ।आज साँझ ६ बजेदेखि यहाँ रहेका घरटहरा हटाउने कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । यता, जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ । जग खन्दा ८६ थान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसी जानकारी दिए । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा शुक्रबार र आज भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो । यता, गृह मन्त्रालयले एभरेस्ट बेस क्याम्प(सगरमाथा आधार शिविर क्षेत्र)मा एयर लिफ्ट टेक्नोलोजी कम्पनीको ड्रोन उडान अनुमति रोकेको छ । गत बिहीबार मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाईलाई पत्र लेख्दै एयर लिफ्ट कम्पनीको फ्रि–फ्लाई अल्ट्रा एक्स जेन–२ क्याटागोरी ‘सी’ मोडलको ड्रोन उडान अनुमति रोक्न निर्देशन दिएको हो ।
राजनीति : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बागमती प्रदेश समितिले पछिल्लो समय विद्यालयहरूमा डोजर प्रयोग गरी भौतिक संरचना भत्काइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।शनिबार जारी प्रेस वक्तव्यमा संगठनले केही दिनयता काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा डोजर चलाउँदै आएको उल्लेख गर्दै यसले जनतामा त्रास सिर्जना गरेको आरोप लगाएको हो । यता, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी बैठक बस्न लागेको हो । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो । यता, नेपाली काँग्रेसका सभापति गगन थापाले पूरानो हुनु भनेको खराब र थोत्रो हो भन्ने भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको धारणा राखे ।
अर्थ : कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर सडक कालोपत्र तथा पक्की गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो । यता, निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ । हुलाकी राजमार्गअन्तर्गत यहाँ निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको अस्थायी ‘डाइभर्सन’ आज बिहानको बाढीले बगाएको हो । यस्तै, भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि विराटनगरको भारतीय सीमावर्ती क्षेत्रको जोगवनी बजार सुनसान बन्दै गएको छ भने नेपाली बजारमा उपभोक्ताको चलहपहल बढ्न थालेको छ ।
विश्व : जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन् । मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ । यस्तै, चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई सेवा प्रदान गरेको ‘चाइना स्टेट रेलवे ग्रुप’ले शनिबार जानकारी गराएको छ । चिनियाँ रेलमार्ग सेवा समूहले विच्याटमा एक पोस्टमा लेखेको छ, “रेलमार्गबाट शुक्रबार मे दिवस (मे १)का दिन दुई करोड ४८ लाख यात्रुलाई सेवा दिइएको र शनिबार पनि यो सङ्ख्या उल्लेख्य हुने अनुमान गरिएको छ । यता, इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्देपी उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।
खेलकुद : त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आरएस पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तर्गत शनिबार संकटा क्लबलाई ४–२ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो। यस्तै, नेपाल आर्मी राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा शनिबार पहिलो भएका छन् । खुला ३६ किलोमिटर दूरीको पुरुषमा राजन र महिलामा सुनमाया पहिलो भएका हुन् । यता, संयोग कपाली र नविता श्रेष्ठ दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्। संयोग पुरुष तथा नविता महिलामा च्याम्पियन बने। दुवै नेपाल प्रहरीका हुन्।

