Harsamaya
वैशाख १८ : सम्पत्ति शुद्धीकरणसम्पति अध्यादेश जारीदेखि सुकुम्बासीले गरे आत्महत्यासम्म
ग्राफिक्स : हर समय/Har Samaya

राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यता, सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो । मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । यता, नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासीहरुलाई युद्ध र अपराधिजस्तो व्यवहार गरेको बताए । यस्तै,  नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।
शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे ।

समाचार : रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।  यता, सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब ६ सयभन्दा धेरैले घरटहरा निर्माण गरेर अस्थायी रूपमा बसोबास गरिरहेका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण मातहत ८३३ बिघा जग्गा भए पनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा उद्योग तथा कलकारखना सञ्चालन एवं केही उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । यस्तै,  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय युके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो । यता, नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए । यस्तै, बल्खुस्थित सुकुम्बासी बस्तीमा एक पुरुषले आत्महत्या गरेका छन्। शुक्रबार बस्तीमा डोजर चलाएर हटाउने कार्य भएको केही घण्टामै ती पुरुषले बागमतीमा हाम फालेर ज्यान दिएको प्रहरीले जनाएको छ।

अपराध : प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो । यता, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । यस्तै  सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसनको भुइँ तलामा रहेको ‘कामधेनु ल फर्म’ भित्र भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका २९ वर्षीय गुमस्ताकुमार यादवलाई कारागार चलान गरिएको हो । यता, आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको हो । बालिका एक बर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो ।

खेलकुद : इसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)माथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल वर्षाले प्रभावित बनेको खेलमा नेपालले युएईलाई डिएल मेथडका आधारमा छ रनले पराजित गरेको हो । यस्तै, देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

विश्व : इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ । यता, इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशंकाबीच उनको कार्यालयका एक वरिष्ठ सहयोगीले उनी पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेका छन् । अमेरिकी दाबी र बाह्य अड्कलबाजीलाई खारेज गर्दै इरानी पक्षले यस्तो सूचना ‘मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास’ भएको जनाएको छ । यस्तै, पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ । जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update