काठमाडौं - विपक्षी दलहरूले सरकारका पछिल्ला निर्णयहरूप्रति गम्भीर आपत्ति जनाउँदै विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्।
नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताहरूको बिहीबार संयुक्त बैठकले नागरिकका आधारभूत समस्यालाई बेवास्ता गरिएको निष्कर्ष निकाल्दै तत्काल सुधारका लागि सरकारसँग माग गरेको हो।
बैठकले विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरेको छ। विकल्पबिना बस्ती हटाउँदा नागरिकमा असुरक्षा, त्रास र मानवीय संकट बढेको उल्लेख गर्दै सुरक्षित आवासको सुनिश्चितता गर्न माग गरिएको छ।
त्यस्तै, दैनिक उपभोग्य वस्तुमा भएको तीव्र मूल्यवृद्धिले जनजीवन कष्टकर बनेको भन्दै बजार अनुगमन कडाइ गर्न, कालोबजारी नियन्त्रण गर्न र सहुलियत पसल सञ्चालन गर्न सरकारलाई आग्रह गरिएको छ।
कृषि क्षेत्रमा रासायनिक मलको अभाव दोहोरिएको विषय पनि बैठकले उठाएको छ। समयमै मल आपूर्ति सुनिश्चित गरी किसानलाई राहत दिनुपर्ने माग गरिएको छ। यसैगरी, देशका विभिन्न क्षेत्रमा देखिएको बर्ड फ्लु संक्रमणका कारण किसानहरू प्रभावित भएको उल्लेख गर्दै क्षतिपूर्ति र नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न माग गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी, उत्पादन र सेवा क्षेत्रमा असर परेको भन्दै मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बैठकको निष्कर्ष छ। प्रतिपक्षी दलहरूले समग्र रूपमा सरकारलाई जनजीवनसँग जोडिएका विषयमा संवेदनशील भई तत्काल कदम चाल्न चेतावनी दिएका छन्।

