Harsamaya
 स्वास्थ्य मन्त्रालयलले भन्यो -अस्पतालमा जथाभावी भिडियो नखिच्‍नु, होहल्ला नगर्नू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ।

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ ।

बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने तथा उपचार प्रक्रियामा अवरोध पुन्याउने गुनासो बढेको जनाएको छ ।

मन्त्रालयका अनुसार यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर परेको छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुनको उल्लंघन भएको स्पष्ट पारेको छ ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ले उपचारमा बाधा पुयाउन नपाइने व्यवस्था गरेको छ भने कसैलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गर्न पनि निषेध गरेको छ । त्यस्तै, ‘मुलुकी अपराध संहिता, २०७४’ अनुसार अनुमति बिना कसैको फोटो खिच्न नपाइने व्यवस्था छ ।

मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित निकायको स्वीकृति बिना फोटो-भिडियो नखिन्न र प्रकाशन-प्रसारण नगर्न सबैलाई अनुरोध गरेको छ । यसका साथै कानुनविपरीत यस्ता गतिविधि गरेमा कडा कारबाही हुने चेतावनी दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update