नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गरी संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले सही नहुने बताए । सरकारको उक्त निर्णय प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट उल्लंघन भएको कांग्रेसले बताएको छ । प्रवक्ता चालिसेले यस्ता खाले प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना: जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ । विभागले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार साँझ ५ः४५ बजे तथा समाप्त हुने सम्भावित समय बिहीबार बिहान ७ः४५ बजे रहने जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ: नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज निजलाई बिमासम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि कागेश्वरी मनोहरा क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल बिमा प्राधिकरणले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा, १४० को उपदफा (१) को खण्ड (६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख गरेकाले अनुसन्धानका लागि अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।
१४ जिल्लामा राहदानी घर घरमै वितरण: सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ । त्यसैगरी, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिएको छ भने अन्य जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानी बनाउन आउने सेवाग्राहीसँग ठेगाना संकलन सुरु गरिसकेका छन् । सवारी चालक अनुमति पत्र वितरणतर्फ पनि उल्लेखनीय प्रगति भएको छ ।
विद्युत् अभावले ४० लाख लागतको कोल्डस्टोर प्रयोगविहीन: कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष ०६७/०७७ मा ४० लाख रुपैयाँको लागतमा छायाँनाथ रारा नगरपालिका–४, ताल्चामा निर्माण गरिएको आधुनिक उपकरण सहितको कोल्ड स्टोर विद्युत् समस्याका कारण प्रयोगविहीन अवस्थामा रहेको छ । छायाँनाथ रारा नगरपालिका–४ र ५ नम्बर वडालाई स्याउ जोनका रूपमा विकास गर्ने उद्देश्यले उक्त कोल्ड स्टोर निर्माण गरिएको हो । कृषकले उत्पादन गरेका स्याउ लामो समयसम्म भण्डारण गरी उचित मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्य रहेपनि वैकल्पिक विद्युत् व्यवस्था नहुँदा कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन ।
चार वर्षदेखि एउटै कार्यक्रम, हरेक वर्ष बजेट फ्रिज: कर्णाली प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि ल्याएका कार्यक्रम कार्यान्वयनमा उदासीन देखिएको छ । सरकारले लगातार चार आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा राख्दै र त्यसका लागि बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रममा समावेश भएको कर्णालीका दुर्गम जिल्लामा उडान भर्ने एयरलाइन्सलाई इन्धनमा सहुलियत दिने कार्यक्रम कार्यान्वयनमा सरकार उदासीन देखिएको हो ।
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा परेको रिटमा भोलिका लागि पेशी: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग गैरसंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार रिटको सुनुवाइ भोलि (बुधबार) एकल इजलासका लागि पेशी तोकिएको छ ।

