काठमाडौं - हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
आज किोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तै आज राती कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

