प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै सफल भई आफ्नो सम्पत्ति छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन् । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । यता, पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले सो क्षेत्रमा तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जनाएको छ । यता, इजरायलमा अध्ययनका लागि गएर ज्यान गुमाएका विपिन जोशीको परिवारलाई सरकारले १० लाख सहयोग दिने भएको छ । यसैगरी सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
समाचार : इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको शव परीक्षणका लागि काठमाडौँ लगिएको छ । मृत्युको कारण स्पष्ट पार्न र घटनाको थप अनुसन्धान गर्न सिन्धुली अस्पतालमा रहेको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । यता, नेपाली सेनाले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो संस्था तथा नेतृत्वलाई लक्षित गर्दै प्रसारण भइरहेका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले आज जारी गरेको अपिलमा यस्ता कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न तथा नगराउन अनुरोध गरिएको छ। यता, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । यस्तै, काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गोपाल रनपहलीसहित ११ जनाले सुकुम्वासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरूद्ध रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
अपराध : केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ । उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट २०८० असोज १५ गते दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो । यस्तै राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । यता, सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट भन्सार छली गरेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले बिहीबार पर्साको विभिन्न स्थानबाट करिब रु १७ लाख ३० हजार मूल्य पर्ने २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जानकारी दिए ।
खेलकुद : ओमानसँगको दुई खेलको एक दिवसीय शृङ्खलामा आज नेपाल ए विजयी भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले ओमानलाई ११५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस्तै, इजिप्टको राजधानी कायरोमा माउन्ट एभरेष्ट दिवस र अन्तरराष्ट्रिय वेलनेस दिवसका अवसरमा आज नेपाल-इजिप्टमैत्री दौड आयोजना गरिएको छ । पाँच किलोमिटरको मैत्री दौड नेपाली राजदूतावास, कायइरोले इजिप्टको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी देग्ला प्रोटेक्टोरेटको सहकार्यमा आयोजना गरेको दूतावासले जनाएको छ । यता, कालीकोटको नरहरिनाथ गाउँपालिकामा सञ्चालित १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका नौवटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा तिलागुफा नगरपालिका १५ स्वर्ण, ११ रजत र पाँच कास्यसहित जिल्लामा प्रथम भएको हो ।
विश्व : मध्यपूर्व वार्ताको दोस्रो चरणको वार्ता फेरि सुरु हुने निश्चित भएसँगै शुक्रबार तेलको मूल्यमा गिरावट आएको छ । पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा हुनेगरी तय गरिएको वार्ताका लागि इरानी विदेशमन्त्री अव्वास अराघची पाकिस्तान प्रस्थान गर्ने इरानी सञ्चारमाध्यमले पुष्टि गरेसँगै तेलको मूल्यमा गिरावट आउन थालेको हो । यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग सुरक्षा वार्ता गरेका छन् । जेलेन्स्कीले अमेरिका–इजरायलको इरानविरूद्धको संयुक्त युद्धको बीचमा रियादसहितका खाडीका धेरै राज्यहरूसँग घनिष्ठ सम्बन्ध बनाएका छन् । उनले चार वर्षभन्दा बढी रूसी आक्रमणको सामना गर्दा ड्रोन खसाल्ने किएभको विशेषज्ञतालाई प्रयोग गर्न रियादसँग सुरक्षा सम्झौता गरेका छन् । यता, इराकमा सक्रिय एक सशस्त्र समूहका नेताको खोजीलाई तीव्र बनाउँदै अमेरिकी विदेश मन्त्रालयले ती नेताको बारेमा विश्वसनीय सूचना दिने व्यक्तिलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ । तेहरान समर्थित मानिने उक्त समूह कातेब सैयद अल–शुहादा (केएसएस) का नेता हाशिम फिन्यान रहिम अल–सराजीबारे सूचना संकलन गर्ने उद्देश्यले यो कदम चालिएको हो । अल–सराजीलाई अबु अला अल–वलाई पनि भनिन्छ ।

