Harsamaya
वैशाख ७: नेपाल कतारसँग पराजितदेखि काँग्रेसले सोध्यो कान्छाराम तामाङलाई स्पष्टीकरणसम्म
ग्राफिक्सः हर समय/harsamaya

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता ज्ञवाली मनोनीत गरेको हो ।  यता, नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ सँग जोडिएको पछिल्लो प्रकरणमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीमाथि उठेका प्रश्नहरूको तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख छ। यस्तै,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् । सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न नसक्ने बताए। 

समाचार :अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । आज एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले त्यसविपरीत काम गर्ने दुई जनालाई  जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताए । यता,   गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको शेयरसम्बन्धी विवादबारे सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत स्पष्टीकरण दिएका छन् । पछिल्ला दिनमा विभिन्न आरोप र चर्चा भइरहेका सन्दर्भमा उनले तथ्य र प्रमाणका आधारमा विषय बुझ्न आग्रह गरेका हुन् । गुरुङले २५ लाखको शेयर लुकाइएको भन्ने आरोपलाई अस्वीकार गर्दै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरिसकेको बताए ।  यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । यस्तै, नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ ।    महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट सञ्चालन गर्न अनुरोध गरेको थियो । 

विश्व : इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग लिने वा नलिने भन्ने निर्णय गर्न बाँकी रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सम्झौता नभए इरानको पूर्वाधारमा आक्रमण गर्ने चेतावनी पनि दिएका छन् । यस्तै, मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन सुरु गर्न लागिएको कतारको उड्डयन प्राधिकरणले सोमबार जानकारी गराएको छ । कतार नागरिक उड्डयन प्राधिकरणले हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारमा विदेशी एयरलाइन्सको उडान क्रमिक रुपमा सुरु गर्ने घोषणा गर्दै ‘एयरमेन’लाई सूचना जारी गरेको छ । यता, जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ भूकम्पका कारण सयौँ किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ।

खेलकुद : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ  । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल  यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो । यस्तै, पोखरामा सञ्चालन भइरहेको पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको आज सम्पन्न ९ वर्षमूनिको प्रतिस्पर्धामा सर्वज्ञ खत्री विजेता बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फ सर्वज्ञले उपाधि जित्न सफल भए ।  यता,  नेपाल पुलिस क्लब मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ८० मिनेटको खेलमा उपाधि दाबेदार मानिएको पुलिसले आयोजक चन्द्रगढी युवा क्लबमाथि ६–० को सहज जित निकालेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update