प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले सपथ लिएका हुन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : जेनजी आन्दोलनका घटनामा मृतक परिवारले दिएको उजुरी लामो समयपछि पुनः सक्रिय बनाइएसँगै उच्चस्तरीय राजनीतिक व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। भदौ २३ र २४ गतेको प्रदर्शनमा ज्यान गुमाएका ४९ जनामध्ये ४२ जनाका परिवारले दिएको जाहेरीलाई पहिले तामेलीमा राखिएको भए पनि अहिले पुनः ‘जगाउने’ निर्णय गरिएको हो। यस्तै, नेकपा (एमाले) ले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । सो पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो । यता, नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि फेरि बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोलि फेरि सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
समाचार : सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको पाँच लाख २२ हजार ४९० सहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका–८ बाट स्रोत नखुलेको रकमसहित भारतको विहार राज्य सितामढीका नजिर नटको साथबाट तीन लाख २२ हजार र सर्लाही जिल्ला स्थायी घर भएका मुम्ताज अन्सारीको साथबाट दुई लाख ४९० सहित पक्राउ गरेको हो । यस्तै, काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरले असोजदेखि ६/७ महिनाको अवधिमा भएका कार्य सम्पादन गर्नकासाथै समिक्षा गरेको हो । यता, तनहुँमा पहिलोपटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ । संघीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा पहिलोपटक राहदानी सेवा घरमै वितरण गरिएको हो ।
अर्थ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेका छन्। शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन्। यस्तै, जिल्ला वन कार्यालय संखुवासभाले चालु आर्थिक वर्षमा जडीबुटी बिक्री तथा निकासीबाट चार करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा चिराइतो, मजिटो र रुद्राक्ष निकासीबाट चार करोड २१ लाख ६२६ राजस्व संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । यता, ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा संकलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो । यस्तै, श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गरी वैदेशिक रोजगारका लागि श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले श्रमिक माग गरी राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गर्नुपर्ने र सोको जानकारी यस विभागमा पठाउनुपर्ने प्रावधान रहेको जनाएको छ ।
विश्व : मध्यपूर्वमा बढ्दो तनावबीच इजरायल र लेबनानबीच १० दिने युद्धविराममा सहमति जुटेसँगै क्षेत्रीय परिस्थिति केही सहज हुने देखिएको छ। युद्धविराम कार्यान्वयनमा आएपछि इरानले पनि महत्वपूर्ण सामुद्रिक मार्ग हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ। यस्तै, संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जेलमा रहेकी म्यानमाकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई तत्काल र बिना शर्त रिहाइको माग गरेका छन्। नेतृ सुकीको सजाय शुक्रबार घटाएपछि तुर्कको यो भनाइ आएको हो । यता, सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी बोकेका जहाज दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताए ।
खेलकुद : प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यता, देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदैछ । यस्तै, बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र इकोनोमिक सिम्पोजियम’ यसवर्ष काठमाडौंमा गरिने भएको छ। बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो।

