प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए । ठाकुरले आजै पद तथा गोपनीयताको शपथ लिएकी छिन् । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । उनीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : संघीय संसद्अन्तर्गत सबै संसदीय समिति गठन भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले १६ वटा संसदीय समित गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक वर्षपछिको स्थानीय र प्रदेश निर्वाचनलाई ध्यान दिँदै कठिन मेहनत गर्नुपर्ने बताए । यता, नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् । पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उनले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताए ।
अर्थ : अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले महालेखा नियन्त्रकको कार्यालयद्वारा विकसित उक्त प्रणाली सञ्चालनमा ल्याएका हुन्। यस्तै, ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरू गर्नेभन्दा पनि वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा उनले सो धारणा राखेका हुन् । यता, मकवानपुर जिल्लामा सञ्चालनमा रहेको ग्लोबल क्रसर उद्योगमाथि स्थानीय प्रशासनले अनुगमन गर्दै अवैध गतिविधि पुष्टि भएपछि उद्योग सिल गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगको स्थलगत निरीक्षण गरी कानुन विपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गराएको हो । यस्तै, सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने मापदण्ड थियो ।
समाचार : कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ । यस्तै, संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रियालगायतका समस्या समाधान गर्न कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरद्वारा केही समय अगाडि सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमार्फत दर्ता गराउनु अनुरोध गरेको हो । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई हप्तामा कम्तीमा ६ दिन सेवा सञ्चालन गर्न अनुरोध गरेको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरिएको मन्त्रालयले जनाएको छ। यता चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।
अपराध : कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत दिँदै इटहरी क्षेत्रमा चार वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त चेकिङ अभियानमा ती सवारीहरू विभिन्न स्थानबाट फेला परेका हुन् । यता, वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित आज पक्राउ गरेको हो । यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको वा नगरेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
विश्व : पाकिस्तानको राजधानी इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ । जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्, । आगामी अमेरिका–इरान वार्ताअघि अवरुद्ध गरिएको हो । यस्तै, रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचारको आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२४ मा पक्राउ परेका उहाँमाथिको मुद्दा मस्कोस्थित एक विशाल सैन्य–थिम पार्कसँग सम्बन्धित वित्तीय अनियमिततामा केन्द्रित रहेको बताइएको छ । उक्त पार्कलाई कतिपयले रूसको सैन्य डिज्नील्यान्ड भनेर पनि चिन्ने गरेका छन् । यता, गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको बाढीमा परी दशौँ हजार प्रभावित भएको टोलो न्यूजले शुक्रबार संयुक्त राष्ट्र सङ्घलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । राष्ट्रसङ्द्धको प्रतिवेदन अनुसार मार्च २६ देखि अप्रिल –६ सम्म देशमा परेको भारी वर्षा र बाढीका कारण विभिन्न प्रान्तकामा असर पर्नुका साथै सयौँ गाउँहरू जलमग्न भएका छन् । यस प्रकोपबाट ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।
खेलकुद : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशलाई हराउँदै बागमती प्रदेश विजयी भएको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको खेलमा बागमतीले मधेस प्रदेशलाई ३५ रनले हराएको हो । यता, नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी प्रियंका शाहीले पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। यस्तै, राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ। नेपाल रग्बी संघको आयोजनामा हुने प्रतियोगिता शनिबार र आइतबार हुने भएको हो। प्रतियोगितामा ७ वटै प्रदेशहरू (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदुरपश्चिम) र २ विभागीय टोली सहभागी हुनेछन्।

