काठमाडौं - पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’उनीहरूलाई रिहा गर्ने निर्णय गरिएको हो।
भदौ २३ र २४ मा भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई चैत १४ गते पक्राउ गरिएको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले हिरासतमा राख्दै आएको थियो।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभए हिरासत मुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल ले चैत २५ पछि हिरासत मुक्त गर्न आदेश दिएका थिए। सोहीअनुसार प्रहरीले उनीहरूलाई रिहा गरेको हो।

