शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा
काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्नो सेवा समय परिवर्तन गरेको छ। अस्पताल प्रशासनले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार अब अस्पतालका सेवा बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म सञ्चालन हुनेछन्।
सूचनामा उल्लेख गरिएअनुसार शनिबार र आइतबार अस्पताल बिदा रहनेछ। नेपाल सरकार तथा त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार सेवा समय समायोजन गरिएको अस्पतालले जनाएको छ।
सेवा समय परिवर्तनका कारण उपचारका लागि आउने बिरामीलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै अस्पतालले ओपीडी तथा शल्यक्रियासम्बन्धी सेवा शुक्रबार पूर्ण दिन सञ्चालन गर्ने व्यवस्था मिलाएको छ भने अन्य दिनमा आवश्यक व्यवस्थापन गरिने बताइएको छ।
अस्पताल प्रशासनले नयाँ समय तालिकाअनुसार सेवा लिन बिरामी तथा सेवाग्राहीलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

