Harsamaya
चैत २४ : सरकारले ८५ अर्ब ऋण स्वीकृत गर्देदेखि मधेस प्रदेशमा ३३ जना बिचौलिया पक्राउ
ग्राफिक्स : हर समय/Har Samaya

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले अन्य निर्णयहरू पनि सार्वजनिक गरेकी छन् ।

राजनीति : गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनमा द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताएका छन्। मंगलबार गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रोशी खोला पुगेका हुन्। यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन् । यस्तै,  राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् । यता, समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा र वाम एकताको बहसलाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकमा नेताहरूबीच गहन छलफल भइरहेको छ । बैठकपछि कुरा गर्दै नेता जगनाथ खतिवडाले बैठकमा समसामयिक राजनीतिक परिस्थितिदेखि लिएर निर्वाचन समीक्षा, आगामी कार्ययोजना, कार्यदिशा तथा संगठनात्मक एकताको विषयमा गहन छलफल भइरहेको बताएका छन्।

समाचार : ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरुङ रहेका छन् । यस्तै, तनहुँको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ । सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उनका छोरा कुमार परियार घर नजिकको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए ।  यता, महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाईते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुबै मोटरसाईकलमा तीन/तीन जना सवार रहेको थियो । यस्तै,  मधेस प्रदेशमा ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी कार्यालयहरूमा सक्रिय रहेको बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेस प्रहरी कार्यालयबाट आज जारी विज्ञप्तिमा पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना, मलङ्गवा मालपोत कार्यालयबाट नौ जना, धनुषाका विभिन्न सरकारी कार्यालयबाट चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ । 

अर्थ :  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमले सेवामा सुधारका काम सुरु गरेको छ । सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाको निर्देशनपछि अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था हटाइएको छ । यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए । यता, हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व संकलन गरेको जनाएको हो । 

स्वास्थ्य : काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि कामपाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो । यस्तै,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताएकी छिन् । विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा उनले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताएकी हुन् ।  

विश्व : चिनियाँ विद्युतीय सवारी निर्माता विवाइडीले ‘फ्ल्यास चार्जिङ’ प्रविधिको सहयोगमा तीब्र गतिको चार्ज प्रयोगमा ल्याएको छ । उक्त प्रविधिले ९ मिनेटमा ९७ प्रतिशत चार्ज गर्छ । यो नयाँ प्रणालीले चार्जिङ गतिको पुरानो सीमा तोड्न उच्च–भोल्टेज पावर प्रयोग गर्दछ । गर्मीमा यो अझ छिटो हुनसक्छ किनकि ब्याट्री न्यानो हुन समय चाहिँदैन। यता, विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको असर कम गर्न श्रीलंकाको मन्त्रिपरिषद्ले माछा मार्ने डुङ्गाका लागि इन्धन अनुदान स्वीकृत गरेको छ । माछापालन मन्त्रालयका अनुसार, उक्त अनुदान योजना अप्रिल २० देखि कार्यान्वयनमा आउनेछ । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खुला गर्न दिएको म्याद सोमबारबाट मंगलबारमा सारिएको छ । 

ट्रम्पको अघिल्लो डेडलाइन मार्च २३ का लागि तय गरिएको थियो, तर त्यसपछि उनले पटक–पटक चेतावनी जारी गर्दै र कहिलेकाहीँ वार्ता सफल भएको दाबी गर्दै म्याद सार्दै आएका छन् । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गरेका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update