Harsamaya
चैत २३: ओली–लेखकको रिहाइ २६ गते देखि एनपीएलबाट क्यानले गर्‍यो ९ करोड २१ लाख नाफा सम्म
ग्राफिक्सः हर समय/harsamaya

राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौँ उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

ओली–लेखकको रिहाइ २६ गते:  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत २६ गतेमात्रै रिहा हुने भएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब म्याद नथप्न परमादेश जारी गरेको छ । परमादेशमा चैत २२ मा काठमाडौं जिल्ला अदालतले म्याद थपका लागि दिएको समय पश्चात् थप म्याद नथप्न भनिएको छ । 

एनपीएलबाट क्यानले गर्‍यो ९ करोड २१ लाख नाफा: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा ९ करोड रूपैयाँभन्दा धेरै नाफा भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको आय-व्यय विवरण अनुसार एनपीएलको दोस्रो सिजनमा क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रूपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ । प्रतियोगिताको कूल ग्रस रेभिन्यू ४७ करोड ३६ लाख ५५९ रूपैयाँ रहेको थियो भने खर्च कटाई कूल नाफा २५ करोड ३९ लाख ९५ हजार ४३५ रूपैयाँ भएको थियो ।

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना: सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गत विभिन्न मन्त्रालय र मातहतका निकायले आफूले सम्पादन गर्ने १० वटा मुख्य सुधारका करिब तीन सय बढी क्रियाकलापको कार्ययोजना समय सीमासहित बुझाएका हुन् ।

रुस–युक्रेन युद्ध : रुस–युक्रेन युद्ध जारी छ । आइतबार आफ्नो सेनाले युक्रेनभरि सैन्य अखडाहरुमा आक्रमण गरेको बताएको छ । यता युक्रेनले सोही दिन ठूलो संख्यामा रुसी ड्रोनहरू खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ कि विगत २४ घण्टामा, रुसी सेनाले सैन्य विमानस्थल, ऊर्जा र इन्धन पूर्वाधार, फिक्स्ड–विङ मानवरहित हवाई सवारी साधनको लागि एसेम्बली कार्यशालाहरू, साथै युक्रेनको सशस्त्र बल र विदेशी भाडाका सैनिकहरूको अस्थायी तैनाथी स्थलहरू सहित १४८ क्षेत्रहरूमा युक्रेनी सैन्य सुविधाहरूमा ठूलो आक्रमण गरेको छ।

अर्थमन्त्रीको आश्वासनपछि नेप्से परिसूचक ८३ अंकले बढ्यो:  साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो। आइतबार १०० अंकभन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई भेटेका थिए।

सुनचाँदीको मूल्य घट्यो: नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update