काठमाडौं - मनोरञ्जनको बढ्दो प्रभावले सत्य र यथार्थलाई कति हदसम्म ओझेलमा पारिरहेको छ भन्ने गम्भीर विमर्शलाई रंगमञ्चमार्फत उजागर गर्दै नाटक ‘अतिरञ्जनको मनोरञ्जन’ अहिले थापागाउँस्थित मण्डला थियटर नेपालमा मञ्चन भइरहेको छ । चैत १८ गतेदेखि सुरु भएको यो नाटक आगामी वैशाख १३ गतेसम्म नियमित रूपमा मञ्चन हुने मण्डालाले जनाएको छ ।
समकालीन समाजमा लोकप्रियता, छवि निर्माण र सार्वजनिक धारणा कसरी क्षणभरमै उचालिन्छ र फेरि त्यही समाजले कसरी त्यसलाई धराशायी बनाउँछ भन्ने यथार्थपरक चित्रण प्रस्तुत गर्दै नाटकले ‘अति’ को सीमारेखा कहाँबाट सुरु हुन्छ भन्ने जटिल प्रश्नलाई केन्द्रमा राखेको छ। मनोरञ्जनको आवरणभित्र लुकेका सत्य, भ्रम र मानवीय निर्णयका विविध आयामलाई नाटकले प्रभावशाली ढङ्गले उजागर गरेको देखिन्छ ।
विशेषतः कुनै एक पात्रको जीवनमार्फत कथा अगाडि बढ्दै जाँदा दर्शकले आजको समाजसँग आफूलाई प्रत्यक्ष रूपमा जोडिएको अनुभव गर्छन्। नाटकको मुख्य पात्रले दर्शकको ध्यान आफ्नो वरिपरि केन्द्रित गर्न सफल देखिन्छ, जसमा कलाकार सोमनाथ खनालको अभिनय अत्यन्त सशक्त र जीवन्त बनेको छ। समाजले कुनै व्यक्तिलाई आफैंले शिखरमा पुर्याउने र स्वार्थ समाप्त भएपछि त्यही व्यक्तिलाई आलोचना र उपेक्षाको कठघरामा उभ्याउने प्रवृत्तिलाई नाटकले तीखो व्यङ्ग्यका साथ प्रस्तुत गरेको छ।
करिब डेढ घण्टा अवधिको यो प्रस्तुतिले दर्शकलाई केवल मनोरञ्जन प्रदान गर्ने मात्र होइन, कथा र पात्रबीचको भावनात्मक सम्बन्ध निर्माण गर्न सफल देखिन्छ। कथावस्तुका केही पक्षहरू प्रत्यक्ष रूपमा नखुलाइ दर्शककै व्याख्यामा छोडिएको शैलीले नाटकलाई अझ रहस्यमय र विचारोत्तेजक बनाएको छ, जसले दर्शकलाई नाटक समाप्त भइसकेपछि पनि सोच्न बाध्य बनाउँछ।
फिल्मी शैलीमा गरिएको इन्ट्री र रंगमञ्चमै प्रत्यक्ष प्रस्तुत गरिएको लाइभ संगीतले नाटकको सौन्दर्यलाई थप उचाइ दिएको छ। लाइटको सशक्त प्रयोग र दृश्य संयोजनले प्रस्तुतिलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ। नाटकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रस्तुत संवादहरूले समकालीन शहरी जीवनशैलीको यथार्थ झल्काउने प्रयास गरेको देखिन्छ।
विशेष आकर्षणका रूपमा दर्शकले हलभित्र प्रवेश गर्नु अघि नै नाटकको वातावरणसँग जोडिने अवसर पाउँछन्। सिटमा बसेपछि पनि नाटक सुरु भइसकेको हो कि अझै बाँकी छ भन्ने अन्योल सिर्जना गर्ने शैलीले दर्शकलाई प्रारम्भदेखि नै कथाको हिस्सा बनाउने प्रयास गरेको देखिन्छ, जुन नेपाली रंगमञ्चका लागि नवीन प्रयोग मानिन्छ।
नाटकमा कलाकारहरू सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र बिष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुष्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भाष्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसेले प्रभावशाली अभिनय प्रस्तुत गरेका छन् ।
संयोग गुरागाईंको लेखन रहेको यस नाटकलाई सागर खाती कामीले निर्देशन गरेका हुन्। नाटक हरेक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ ५:३० बजे तथा शनिबार दिउँसो १:३० बजे मञ्चन हुने जनाइएको छ।
नाटक हेर्नका लागि विद्यार्थीका लागि रु. ३००, अन्य दर्शकका लागि रु. ५०० तथा प्रिमियम सिटका लागि रु. १,००० शुल्क तोकिएको छ ।

