Harsamaya
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
इनिशा बिक ।

सुर्खेत - सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन् । इनिशाको आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।

दुई साता लामो अनुसन्धान पछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहस पछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलाशले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ ।

अदालतका सूचना अधिकारी उज्वल रावलकाअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो ।

सोमबारदेखि बाल इजलासमा सुनुवाई भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

 इनिशाको मृत्युपछि वीरेन्द्रनगरमा दुर्बैपक्षबीच प्रदर्शन हुँदै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update