Harsamaya
चैत १८: एसईईको सबै तयारी पुरादेखि एमालेको संसदीय दलको नेतामा बादलसम्म
ग्राफिक्सः हर समय/Har Samaya

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ । बैठक अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको हो । बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय सभाको २०औँ अधिवेशनको पूर्वतयारीबारे व्यापक छलफल गरेको छ । साथै, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुलाई विभिन्न समितिमा विभाजन लगायतका विषयमा पनि विचार–विमर्श गरिएको थियो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो । यस्तै, नेपाली कांग्रेसका नेता शंकर भण्डारीले दुबै पक्ष समेटेर सानो कमिटी बनाएर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बुधबार बसेको देउवा पक्षको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एकपक्षीय ढङगले कांग्रेस बन्न नसक्ने भन्दै दुई पक्षलाई मिलाउनु पर्ने बताएका हुन् । यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ । मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् । यस्तै, नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ ।

समाचार : यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । यता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो । यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । यता, नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छिन् । यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गरेकी थिइन् । 

अपराध : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ  सेवन गरी सवारी साधन चलाउने १६ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आज ११ वटा यात्रुवाहक सवारी साधन, एक वटा ट्र्याक्टर, दुई वटा निजी कार तथा दुई वटा स्कुटरका चालकलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । यस्तै, काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । यता, हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै रु नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर तथा सोही ठाउँकी ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापामगर रहेका छन् ।

अर्थ : सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्यांकअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो । यता, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको छ । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्य सो एकाइको रहेको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अंकले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो । यता, सङ्खुवासभामा निर्माणधीन नौ सय  मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । 

विश्व : भारतमा व्यवसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच पश्चिम एशियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हुने हर्मुज नाका बन्द भएपछि त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ । यता, कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ ।  इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्यांकरलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । यस्तै, पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार एउटा सिङ्गमर्मरको खानीमा दुर्घटना हुँदा मृत्यु हुने खानी श्रमिकको सङ्ख्या नौ जना  पुग्नुका साथै अन्य तीन जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

खेलकुद : नेपालले थाइल्यान्डमा तय भएको फिफा सिरिज गुमाउने भएको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेपछि प्रतियोगिताबाट नाम फिर्ता लिइएको हो।राखेपले एन्फालाई पटक पटक दिएको निर्देशन अवज्ञा गरेको जनाउँदै ११ चैतमा खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) बमोजिम तीन महिनाका लागि निलम्बन गरेको थियो।  यस्तै,नेपाल साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार सम्पन्न खेलमा बंगलादेशसँग १–० ले पराजित भएको हो।  यता, बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको हो।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update