काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए ।
श-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका घोषणा गर्ने निर्णय गरिएको हो । यस्तै, नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ । महामन्त्री प्रदीप पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिए । यता, प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् । उनले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएको डोटीका सांसद भरत खड्काले जानकारी दिए । यस्तै, नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक भोली पनि बस्ने भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु भएको हो ।
अपराध: कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । अनलाइन ठगी तथा कम्बोडियामा बिना भिसा बसिरहेका १२ नेपालीको थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरी आज स्वदेश फर्काइएको हो । यस्तै, धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । यता, काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् । उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस्तै, प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई पक्राउ गरेको हो ।
समाचार : सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ । सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिए । यता, बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यस्तै, ललितपुरमा एक ज्येष्ठ नागरिकमाथि सडकपेटीमा हिँडिरहेका बेला अभद्र व्यवहार गरेको आरोपमा एमालेको भ्रातृ संगठन युवा संघ, ललितपुरका जिल्ला अध्यक्ष रामशरण शर्मा बजगाई पक्राउ परेका छन्।
स्वास्थ्य : नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र १० जना बालबालिकाले निःशुल्क सेवा लिएका हुन् । यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका १४ जना चिकित्सकको काज फिर्ता गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । यस्तै, राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५:२०१७ प्रमाणपत्र प्राप्त गरेको हो ।स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । यता, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।
अर्थ : किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा वितरण गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण भइरहेको छ । यता, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पुर्याएर समाधान खोजिने बताएका हुन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारी निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले हालैको मन्त्रिपरिषद् बैठकले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ सम्बन्धी निर्णय गरेको जानकारी दिएका हुन् ।
खेलकुद : एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ । लाओसको नेसनल रङ्गशालामा आज भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो । यता, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध संघसंस्था क्रियाशील हुनुपर्ने बताए । यस्तै, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो ।
विश्व : संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको ट्यांकर अल सल्मीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । दुबई मिडिया अफिसले मंगलबार उक्त जानकारी दिँदै घटनामा मानवीय क्षति नभएको पुष्टि गरेको छ । करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको उक्त ट्यांकर कुवेत र साउदी अरेबियाबाट चीनको छिङदाओतर्फ जाँदै गर्दा दुबईको जलक्षेत्रमा क्षतिग्रस्त भएको थियो । यस्तै, इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यता, चीनले सोमबार ‘लिजियान–२ वाइ–१’ नामक वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त रकेटले तीनवटा उपग्रह बोकेको थियो । रकेट स्थानीय समयअनुसार बेलुका ७ बजे उत्तरपश्चिम चीनस्थित व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रमा रहेको प्रक्षेपण केन्द्रबाट उडान भरेको हो ।

