देशको राजनीतिक नेतृत्वमा नयाँ अध्याय सुरु भएसँगै आजको दिन राजनीति, अर्थतन्त्र, अपराध तथा अन्तर्राष्ट्रिय घटनाक्रमका दृष्टिले महत्वपूर्ण बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त गरेपछि नयाँ सरकार गठन र मन्त्रीहरूको शपथसँगै शासन सञ्चालनले गति लिएको छ । यता अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै आर्थिक सुधारका प्रारम्भिक निर्णयहरू सार्वजनिक गरेका छन् भने सहकारी ठगी, हवाई उद्धार र अन्तर्राष्ट्रिय सुरक्षा सहकार्यजस्ता घटनाले आजको समसामयिक परिदृश्यलाई थप चर्चित बनाएको छ ।
राजनीति :
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । शुक्रबार उनले नेपालको संविधानको धारा ७६ (उपधारा १) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी नेपालको ४३औँ प्रधानमन्त्री बनेका हुन् । यता, नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यस्तै, प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् ।
यता, नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई ।’
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, आबद्धता वा समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यस्तो धारणा सार्वजनिक गरिएको हो । पार्टीले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिएको उल्लेख गर्दै हालै सम्पन्न आम निर्वाचनमा पनि निजामती सेवाको सुदृढीकरणका लागि प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ । यता, सरकारले भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
अर्थ :
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । सिंहदरबारमा पदभार ग्रहण लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् । यता, नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अपराध/घटना :
सहकारीको रु १८ करोड ७६ लाख चार हजार ५३२ अपचलन गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि बनेपा नगरपालिका–७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । एक सय तीन बचतकर्ताद्वारा सहकारीका १७ सञ्चालकलगायत सम्बद्धविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकमार्फत जिल्ला अदालत धुलिखेलमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गरिएको हो । यस्तै, आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ ।मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको जानकारी दिए । क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उनले बताए । यता, टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
विश्व
मध्यपूर्वमा बढ्दो ड्रोन आक्रमण र युरोपमा जारी युद्धबीच युक्रेन र साउदी अरेबियाबीच रक्षा सहकार्य नयाँ चरणमा प्रवेश गरेको छ । इरानी डिजाइनका ड्रोन हमलाहरूको चुनौती सामना गर्ने उद्देश्यले दुवै देशले हवाई रक्षा प्रणालीसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको राज्य भ्रमणका क्रममा भएको यस सम्झौताबारे दुई वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । उनीहरूका अनुसार युक्रेनले साउदी अरेबियालाई आधुनिक हवाई रक्षा प्रणाली विकासका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यस्तै, अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाले अचानक बाढी ल्याउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । यो जानकारी राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बिहीबार साँझ दिएका छन् ।

