काठमाडौं - विशेष राजनीतिक उतारचढावबीच एकै वर्षमा तीन प्रधानमन्त्री परिवर्तन भएको परिप्रेक्ष्यमा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आजदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै नयाँ नेतृत्वको परीक्षा सुरु भएको छ ।
निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारी लिएर प्रधानमन्त्री बन्नुभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भने आफ्नो कार्यकाल पूरा गर्दै आजदेखि पदमुक्त भएकी छिन् । उनको नेतृत्वमा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएको थियो, जसले देशलाई नयाँ जनादेशतर्फ डोर्याएको थियो ।
यसअघि भ्रष्टाचार अन्त्य, सुशासन कायम तथा सामाजिक सञ्जालको नियमित सञ्चालनको माग राख्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि सुरु भएको राजनीतिक घटनाक्रमले छोटो अवधिमा तीन नेतृत्व परिवर्तनको अवस्था सिर्जना गरेको हो ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले १८२ स्थानमा विजय हासिल गर्दै स्पष्ट बहुमतसहित सरकार गठन गरेको छ । संविधानको धारा ७६ (१) अनुसार बनेको वर्तमान सरकारसँग अब भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने प्रमुख चुनौती रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
नयाँ सरकारप्रति जनताको अपेक्षा उच्च रहेको अवस्थामा प्रधानमन्त्री शाहको कार्यशैली र निर्णयले आगामी राजनीतिक स्थायित्वको दिशा निर्धारण गर्ने देखिएको छ।

