Harsamaya
पहिलो वादी मन्त्रीले आँसु पुछ्दै भनिन् - सोचेको थिइनँ, यहाँ आइपुग्छु भने
राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादी ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभार ग्रहण गरेकी छिन् । उनी नेपालको पहिलो वादी समुदायको मन्त्री बनेकी छिन् ।

पदभार ग्रहण गरेसँगै उहाँ भावुक हुनुभयो । आँखाबाट आँसु पुछ्दै उनले भनिन्, ‘सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर ।’ उनले समाजको जातीय बहिष्करणमा संघर्ष गर्दागर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै रुपान्तरण आएको महसुस गरेको बताइन् । उनले भनिन्, ‘अब जिम्मेवारपूर्ण भएर समाज रुपान्तरणका सक्रिय हुने छु ।’

महिला सशक्तिीकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी छिन् । गरिबी र समाजको विभेदका कारण जीवनका पाइलै पिच्छे पहिचानका लागि सङ्घर्ष गर्दै आएकी उनी रास्वपामा आबद्ध भएकी थिइन् । 

समानुपातिकबाट सांसद भएकी उनले १३ वर्षको उमेरदेखि संस्थाको आर्थिक सहयोगमा पढाइ पूरा गरिन् । स्नातकसम्मको शिक्षा हासिल गरेलगत्तै उनले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तिकरणमा सहयोग पुग्ने सामाजिक संस्था सञ्चालन गर्दै आएकी थिइन् ।

अब भने मन्त्रायको नेतृत्व सम्हाल्दै बृहत्तर रुपमा महिला सीमान्तकृत समुदायको समस्या समाधान गर्न काम गर्ने बताइन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update