काठमाडौं - नेपालका नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार १२ बजेर ३४ मिनेटमा शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
उनको शपथ अगाडि १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिएको थियो भने १०८ जना बौद्ध भिक्षु तथा लामाद्वारा शुभ–मंगल पाठ गरिएको थियो । साथै ७ वटा शंखबाट शंखनाद गरी शपथ समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाएको थियो ।
शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।

