Harsamaya
‘विश्व जल दिवसः नोपलमा २९ प्रतिशत नागरिक मात्रै सुरक्षित खानेपानीको पहुँचमा’
महानिर्देशक कमलराज श्रेष्ठ ।

काठमाडौं - नेपालमा खानेपानीको पहुँच विस्तार भइरहेको देखिए पनि सुरक्षित र गुणस्तरीय खानेपानीको उपलब्धता अझै चुनौतीपूर्ण रहेको पाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हालसम्म करिब २९ प्रतिशत नेपालीले मात्रै उच्च तथा मध्यम स्तरको सुरक्षित खानेपानी सेवा प्राप्त गरेका छन् ।

हामीसँगको कुराकानीमा विभागका महानिर्देशक कमलराज श्रेष्ठले करिब ९० लाख जनसंख्याले मात्रै आफ्नो घरको कम्पाउण्डभित्रै धारा जडान गरी खानेपानीको सेवा उपयोग गरिरहेको जानकारी दिए । नेपालको कुल जनसंख्या झण्डै ३ करोड मान्दा यो संख्या सीमित रहेको र बाँकी जनसंख्याले अझै पनि व्यवस्थित र सुरक्षित पानीका लागि संघर्ष गरिरहनुपरेको तथ्यांकले देखाउँछ ।

महानिर्देशक श्रेष्ठले धेरै नागरिकले विभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको भए पनि त्यसको व्यवस्थापन, दिगोपन र गुणस्तरमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘करिब ९० लाख जनसंख्याले घरमै व्यवस्थित सेवा पाएका छन् । तर बाँकी जनसंख्याले प्रयोग गरिरहेको पानीलाई दीर्घकालीन र भरपर्दो बनाउन राज्यको भूमिका महत्वपूर्ण छ,‘ उनले भने, ‘अब नागरिकले खानेपानीका लागि चिन्ता गर्न नपर्ने गरी राज्यले व्यवस्थापन गर्नुपर्छ ।’

खानेपानीलाई केवल आधारभूत आवश्यकताका रूपमा मात्र नहेरी जनस्वास्थ्य र आर्थिक उत्पादकत्वसँग जोडेर हेर्नुपर्नेमा महानिर्देशक श्रेष्ठको जोड छ । सुरक्षित पानीको पहुँच पुग्दा सरुवा रोगहरू नियन्त्रण हुने र यसले नागरिकको कार्यक्षमता बढाएर देशको आर्थिक स्थितिमा समेत सकारात्मक प्रभाव पार्ने उनले उल्लेख गरे ।

विभागले अबका दिनमा खानेपानीको समान पहुँच सुनिश्चित गर्न, सेवालाई दिगो बनाउन र गुणस्तर नियन्त्रणमा विशेष ध्यान दिने योजना बनाएको छ । हालको तथ्यांकअनुसार ७१ प्रतिशत जनसंख्या अझै पनि उच्च स्तरको सुरक्षित खानेपानीको पहुँच बाहिर रहेकाले यो क्षेत्रमा ठूलो लगानी र व्यवस्थापकीय सुधारको खाँचो देखिएको छ ।

जलवायु परिवर्तनको बढ्दो असर
नेपालमा पानीको स्रोत प्रशस्त देखिए पनि यसको उपयोगमा जलवायु परिवर्तनले ठूलो असर पारेको श्रेष्ठ बताउँछन् । वार्षिक रूपमा १५००–१६०० मिलिमिटर वर्षा हुने देशमा वर्षाको वितरण असन्तुलित हुँदै गएको छ ।‘अहिले पानी छोटो समयमा अत्यधिक मात्रामा पर्छ, तर त्यसले भू–जल पुनर्भरण हुन पाउँदैन,’ उनले स्पष्ट पारे ।

यसका कारण पहाडी क्षेत्रका मुहानहरू सुक्दै गएका छन् भने तराई क्षेत्रमा भू–जल सतह घट्दै गएको छ । उनले भने,‘गत वर्ष पानी उपलब्ध गराएका आयोजनाहरू यस वर्ष स्रोत सुक्ने वा क्षमता घट्ने समस्यामा परेका छन । यसले दीर्घकालीन योजना र स्रोत व्यवस्थापनको आवश्यकता अझै बढाएको छ ।’

अव्यवस्थित विकासका चुनौती
मानव गतिविधिले पनि खानेपानी व्यवस्थापनमा चुनौती थपेको छ । पहाडी क्षेत्रमा बिना इन्जिनियरिङ अध्ययन सडक निर्माण गर्दा पानीको प्राकृतिक रिचार्ज प्रणाली बिग्रिएको छ । यसको असर तराईसम्म देखिएको छ, जहाँ डुबान र बाढीको समस्या बढ्दै गएको छ ।

सहरी क्षेत्रमा अनियन्त्रित बसाइँसराइ अर्को गम्भीर समस्या हो । ‘एक निश्चित जनसंख्यालाई लक्षित गरेर बनाइएको खानेपानी प्रणालीमा अचानक जनसंख्या बढ्दा सेवा दिन कठिन हुन्छ’उनले बताए । गाउँबाट सहरतर्फको तीव्र बसाइँसराइले धेरै ठाउँमा प्रणाली क्षमताभन्दा बढी दबाब सिर्जना गरेको छ ।

समाधानका नयाँ प्रयास
यी चुनौतीको सामना गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग ले विभिन्न नवीन उपायहरू अपनाउन थालेको छ । पहाडी क्षेत्रमा सुक्दै गएका मुहानको विकल्पस्वरूप ठूला नदी तथा खोलाबाट पानी ल्याएर प्रशोधन गरी वितरण गर्ने योजना अघि बढाइएको छ। कतिपय स्थानमा बहु–स्टेज पम्पिङ प्रणालीमार्फत डाँडाका बस्तीहरूमा पानी पुर्याउने काम भइरहेको छ ।

तराई तथा भित्री मधेस क्षेत्रमा बल्क सप्लाई प्रणालीमार्फत ठूलो स्रोतबाट पानी ल्याएर वितरण गर्ने योजना कार्यान्वयनमा छ। साथै, वर्षा पानी संकलन (रेनवाटर हार्भेस्टिङ) लाई दीर्घकालीन समाधानको रूपमा प्राथमिकता दिइएको छ।

‘नेपालमा पानीको अभाव छैन, व्यवस्थापनको चुनौती हो,’श्रेष्ठले भने, ‘वर्षाको पानी संकलन गरेर सुक्खा समयमा प्रयोग गर्न सके समस्या धेरै हदसम्म समाधान हुन्छ।’

संस्थागत पहल र अन्तर्राष्ट्रिय सहयोग
देशभर ठूला तथा साना खानेपानी आयोजनाहरू सञ्चालनमा छन्। संघीय सरकारअन्तर्गत ठूला सहरहरूमा बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेका छन् भने सहलगानी मोडेलमार्फत उपभोक्ता र सरकारबीच लागत साझेदारी पनि भइरहेको छ।

अन्तर्राष्ट्रिय सहयोगमा पनि विभिन्न परियोजनाहरू अघि बढेका छन्। एसियन डेभलपमेन्ट बैंक र वर्ल्ड बैंकको सहयोगमा ठूला सहरमा खानेपानी आयोजना सञ्चालन भइरहेका छन् भने कर्णालीजस्ता दुर्गम क्षेत्रमा फिनल्याण्ड सरकारको सहयोगमा साना आयोजना कार्यान्वयनमा छन्।

गुणस्तर सुनिश्चिततामा जोड
पानीको पहुँचसँगै यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण रहेको श्रेष्ठ बताउँछन्। विभागले सातै प्रदेशमा पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। विशेष गरी वर्षायाममा ब्याक्टेरियल संक्रमणको जोखिम बढ्ने भएकाले नियमित परीक्षण भइरहेको छ।‘अहिले नागरिक आफैं पनि सचेत भएका छन्। धेरैजसो मानिसहरू पानीको गुणस्तर जाँच गर्न ल्याबमा आउने गरेका छन्,’ उनले भने । यसले पानीप्रति जनचेतना बढ्दै गएको संकेत गर्छ।

सीमित स्वच्छ पानी स्रोत
विश्वभर उपलब्ध पानीमध्ये प्रयोगयोग्य स्वच्छ पानी अत्यन्त कम रहेको श्रेष्ठले उल्लेख गरे। अधिकांश पानी समुद्रमा रहेको र केही भाग मात्र नदी, ताल र भू–जलमा उपलब्ध हुने भएकाले यसको संरक्षण अपरिहार्य रहेको उनले बताए।

विश्व पानी दिवस को सन्दर्भमा श्रेष्ठले पानी संरक्षणलाई सामूहिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका छन्। उनले भने,‘पानीको प्रत्येक थोपा महत्वपूर्ण छ। राज्य, सेवा प्रदायक र नागरिक सबैले मिलेर यसको संरक्षण र सदुपयोग गर्नुपर्छ।’

उनका अनुसार पानीको दिगो व्यवस्थापनका लागि केवल पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी सञ्चालन, मर्मत र संरक्षण पनि उत्तिकै आवश्यक हुन्छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update