हेटौँडा - जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच दिनको अन्तरालमै फरार रहेका विभिन्न कसुरका ७ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।
प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लामा पठाइएको छ । पछिल्लो समय मकवानपुरलाई सुरक्षित लुक्ने स्थानका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी तीव्र बनाएको जनाएको छ ।
यस क्रममा ‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । विशाल के.सी.को जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका–१ बस्ने ३७ वर्षीय धनसानी गोलेलाई पक्राउ गरिएको हो ।
वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा जारी पक्राउ पुर्जी बमोजिम उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी गोलेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइने तयारी भइरहेको छ ।
नेपाल न्यूज बैंकका मकवानपुर जिल्ला संवाददातासँग कुरा गर्दै एसपी श्यामबहादुर खत्रीले यस्तो प्रकारका ठगी गतिविधि अब सह्य नहुने र संलग्न जोसुकैलाई पनि पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे ।
प्रहरीले विदेश पठाइदिन्छु भन्दै ठगिएका अन्य पीडितहरूलाई समेत सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै, वैदेशिक रोजगारीमा जाने क्रममा आधिकारिक प्रक्रिया अपनाउन र प्रलोभनमा नपर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

