नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकृत भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारी, प्रशासनिक कर्मचारी तथा सरोकारवाला निकायको योगदानको उच्च प्रशंसा गरिन् । यता, आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत मन्त्रीहरुको जम्बो टोलीले संसद भवन अनुगमन गरेको छ । शुक्रबार मन्त्रीहरुको जम्बो टोलीले नयाँ सांसदहरुको पहिलो बैठकका लागि तयार गरिरहेको सभाहलको अनुगमन गरेका हुन् । यस्तै, नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो ।शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ । यता, फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए ।
समाचार : वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा आज दिउँसो करिब २:३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । यता, स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ ।आज दिउँसो बसिन्डाँडामा झण्डै एक वर्ष उमेरको चितुवा मरेको अवस्थामा फेला परेको गल्याङ, कालीगण्डकी सवडिभिजन वन कार्यालय गल्याङका वन अधिकृत सुमन केसीले जानकारी दिए । यस्तै, वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा ठूला सवारीसाधन सञ्चालनमा आंशिक रोक लगाइएको हो । यता, वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ः०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ । यस्तै, नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले फागुनमा ५०२ वटा विपद्जन्य घटना भएको र ती घटनाबाट १८ को मृत्यु र १२४ जना घाइते भएको जानकारी दिए ।
अपराध : ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर इञ्जिन तथा चेसिसका किर्ते कागजात बनाइ बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले उक्त गिरोहलाई चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । यस्तै, सशस्त्र प्रहरी बल नेपाल पर्साले रू २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीले आज वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शंकर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो । यता, सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्थ : काठमाडौँको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोको दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म मेला सञ्चालन हुनेछ । यस्तै, भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् । यता, बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व संकलन गरेको छ । यस्तै, ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्सको रु १६० मा बिक्री हुन थालेका छन् । ब्रोइलरको लागत मूल्य रु ६५ र लेयर्सको १२० पर्न आउँछ ।
खेलकुद : शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यान्द्वारा आज जारी प्रेस विज्ञप्तीमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले रु पाँच लाख पाउनेछन् । यता, उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष तथा लागुऔषध कारोबारी दावा लामाको उम्मेदवारी तत्कालका लागि स्थगन गर्न आदेश दिएको छ। न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। दिपक खतिवडाले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका तर्फबाट आवश्यक कागजात र प्रमाण पेश नभएसम्मका लागि उम्मेद्वारी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको जनाएको छ।
विश्व : चाइना कोस्ट गार्डले मंगलबार दक्षिण चीन सागरको हुआङयान दाओ नजिकै माछा मार्ने गतिविधिमा संलग्न रहेको भन्दै धेरै फिलिपिन्सका माछा मार्ने डुङ्गाहरूलाई निष्कासित गरेको छ। चाइना मिडिया ग्रुपसँग सम्बद्ध मिडिया आउटलेट युयुआन्टान्टिआनले जारी गरेको फुटेजमा डुङ्गाहरू सक्रिय रूपमा माछा मारिरहेका थिएनन् भन्ने देखिन्छ। बरु, जहाजमा रहेका धेरै व्यक्तिहरू गोप्य रूपमा भिडियो खिचिरहेका थिए । यस्तै, अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यस्तै, क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ । यता, रुसले शुक्रबार संकटग्रस्त सहयोगी क्युबालाई सहयोग गर्न तयार रहेको बताएको छ । उसले क्यारेबियन टापुमा अति आवश्यक तेलको डेलिभरी पठाएको छ कि छैन भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ। यता, मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबुधाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्।

