Harsamaya
चट्याङ लागेर गुल्मीका ६ जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

गुल्मी - वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ जना घाइते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा आज दिउँसो करिब २:३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । 

घाइतेहरूको छाती, नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको मुसिकोट नगरपालिका वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइपुर्‍याइएको उनले जानकारी दिए । 

उक्त घटनामा स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीन वटा बाख्रासमेत मरेका छन् । घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

आजै दिउँसो मालिका गाउँपालिका-३ ह्वाङ्दीमा परेको चट्याङमा ६४ वर्षीय नारायण थापासहित उनका नातिनी तीन वर्षीया आस्मा गिरी र ६ वर्षीया आशिका गिरीसमेत घाइते भएका सूचना अधिकारी सारुले जानकारी दिए । उनका अनुसार घाइतेहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसकेका छन् । 

उक्त घटनामा स्थानीय गोकर्ण थापाको एउटा बोकासमेत जलेर मरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्खाबाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update