राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीच बिहीबार भएको छलफलले प्रधानमन्त्रीको शपथ लिने मिति तय गरेको हो।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ । गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए । यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार बसेको राप्रपाका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको बैठकले शाहीलाई संसदीय दलको नेतृत्व सुम्पिने निर्णय गरेको हो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले अघिल्ला राजनीतिक दलहरूले समानुपातिक प्रणालीको अभ्यास गर्दा समग्र राजनीतिलाई नै वितृष्णा र पेसामुखी बनाएको टिप्पणी गरेकी छन् । बिहीबार निर्वाचन आयोगले प्रदान गरेको समानुपातिक सांसदहरुलाई प्रमाणपत्र ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिलेको आवश्यकता राजनीतिक अभ्यासलाई सुसंस्कृत बनाउने भएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) यस दिशामा अघि बढिरहेको बताइन् ।
समाचार : निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको जानकारी दिएका छन्। बिहीबार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम राष्ट्रपति समक्ष पेश गरिएको बताए । यस्तै, आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो। यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका मुलुकलाई अनुशासन र लयमा समेट्न निर्वाचन गर्ने बाहेक अरू विकल्प नभएको हुन् । यस्तै, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि सुनुवाइ सुरू भएको थियो ।
अपराध : नाबालक छोरीछोरीसहित वेपत्तापछि मृत भेटिएकी गुर्भाकोट नगरपालिका १२ की माया कठायतका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ । मायाका बुबा र दाजुले उनका श्रीमान भूपेन्द्र कठायतविरुद्ध मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीले बताए । यस्तै, जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ । यता, जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् । रास्कोट नगरपालिका–१ की बालिका १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ । साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् । यस्तै, नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
अर्थ : फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २७औँ फ्लोरा एक्स्पो आजदेखि सुरु भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भई चैत ८ गतेसम्म भृकटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ । यता, लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् । विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो बर्सात अत्यन्तै उपयोगी बनेको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताउनुभयो । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा बर्सात भएपछि किसानमा नयाँ आशा पलाएको उनको भनाइ छ ।
खेलकुद : राजधानीमा जारी सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । यस्तै, दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ । यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रुपमा समेत रहेको छ । यता, नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मुलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ । बिहीबार क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ । यस्तै, नेपाली राष्ट्रिय यू–२० पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । बिहीबार एक विशेष समारोहकाबीच साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीको बिदाइ गरिएको हो । समारोहमा बोल्दै कोच उर्जन श्रेष्ठले तयारी राम्रो गरिएको बताए । उनले पहिला पनि नेपाली टोली फाइनलमा चुक्न पुगेकाले यससटक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए ।
विश्व : कोमोरोसको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७ आप्रवासीको मृत्यु भएको गृहमन्त्री मोहम्मद अहमद असौमानीले बिहीबार जानकारी दिएका छन् । डुङ्गाबाट कोमोरोस ल्याइएका ५१ जना आप्रवासीमध्ये बिहीबार ३० जना मात्रलाई जीवितै उद्धार गरिएको छ । यता, मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको विश्व व्यापार संगठन प्रमुखले बिहीबार चेतावनी दिँदै विश्वव्यापी आपूर्ति श्रृंखलाहरू खुला राख्न अपिल गरेका छन् । मध्य पूर्व द्वन्द्वका कारण उच्च ऊर्जा लागतले आपूर्ति घटाउँछ, रासायनिक मलको लागत बढाउँछ र अन्ततः यसले विश्वव्यापी खाद्य सुरक्षालाई खतरामा पार्नेछ । यस्तै, चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार विज्ञप्ति मार्फत बताएका छन् । बुधबार भएको आक्रमणमा अन्य मानिसहरु घाइते भएकासमेत प्रवक्ता महामतले बताए । यता, दशकौंदेखिको अमेरिकी प्रतिबन्धले क्युबाको ऊर्जा पूर्वाधारलाई कमजोर बनाएको छ । जसले गर्दा टापुभरिका परिवारहरूलाई आधुनिक भान्सा त्याग्न र कोइलाले खाना पकाउने पुरानो परम्परालाई पुनर्जीवित गर्न बाध्य पारेको छ।

