Harsamaya
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलमा १५ र डिजल - मट्टीतेलमा  १० रुपैयाँले बढ्यो

काठमाडौं - नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।  निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टितेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

निगमतले अमेरिका–इजरायल–इरान तनावबिच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । ‘यस विषम परिस्थितिबिच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update