Harsamaya
फागुन २९ : वायु प्रदूषणका कारण बर्सेनि हजारौंको मृत्युदेखि इरानी नागरिकलाई नेपालले अनअराइवल भिसा दिनेसम्म
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौँ - वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए ।   

राजनीति : पाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ । अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो । यता,  कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२’ लाई स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । यस्तै, नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ । सरकारी र कूटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएमात्र नेपाल प्रवेश गर्न मिल्ने भएको हो । यससँगै नेपालमा अनअराइवल भिसा प्राप्त नहुने मुलुकको सङ्ख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ । 

समाचार : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टि क्रममा उनका छोरा एवं एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दागबत्ती दिएका थिए । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो । यता,  काठमाडौँ महानगरपालिका–१९ इनाटोलमा आज एक जना मृत अवस्थामा फेला परेका छन् ।  हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । यता,  मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।  यस्तै, सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुन नसकी आइतबारका लागि सारिएको हो ।  यता, भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले बाँकेको कोहलपुर नगरपालिकालगायतका क्षेत्रमा केही दिनयता मुगु र जाजरकोटलगायतका जिल्लाबाट अनधिकृत रुपमा मानिसहरु सम्पर्कमा ल्याई भूमि दिलाउने गरी गतिविधि बढिरहेको जनगुनासो आएकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको बताए । 

अपराध : प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । यता,  विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइको छ । यस्तै,  नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को  टोलीले जेनजी आन्दोलनका क्रममा जबर्जस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत कीर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

अर्थ : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पारे । यता, चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण बढ्दै गएको कार्यालयले जनाएको छ । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको खर्चमा पारदर्शीता नदेखिएको संयुक्त प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनले जनाएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)को संयुक्त प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा निर्वाचनको अभियान खर्चमा कानुनी सीमा र वास्तविक खर्चबीच ठूलो अन्तर देखिएको उल्लेख छ । 

खेलकुद : स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए । यता,  बैतडीमा जारी नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलबाट भारतीय टोली सेमिफाइन प्रवेश गरेको छ । रणशैनी क्लबलाई पाँच विकेटले हराउँदै भारत पिथौरागढको टोली सेमिफाइनल पुगेको हो । यस्तै,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे । 

विश्व : संयुक्त राज्य अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको शुक्रबार जनाएको छ । अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई रुसी इन्धन किन्ने अनुमति दिने निर्णय गरेको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार युद्धका बेला ‘विश्वको ऊर्जा बजारमा स्थिरता’ कायम राख्न अस्थायी उपायस्वरूप उक्त निर्णय लिइएको हो। यता, चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ । इरानले अमेरिका र इजरायलमाथि युद्धको पहिलो दिन दक्षिण इरानस्थित उक्त विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा मारिएका कम्तीमा १६५ जनाको अन्त्येष्टि गरिएको थियो । यस्तै, इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्दै छन् । अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो । यस परिवर्तनले ट्रम्पको पहिलेको सस्तो इन्धनको प्रचार विपरीत प्रभाव देखाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update