Harsamaya
फागुन २८ :  निर्वाचन प्रहरीको बिदाइदेखि किशोरी साहको नाम कालोसूचीमा नराख्न आदेशसम्म
ग्राफिक्सः हर समय/harsamaya

काठमाडौं - फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको सेवा पूरा भएपछि बिहीबार विदाई गरिएको हो । विदाई कार्यक्रममा निर्वाचन प्रहरीलाई धन्यवाद पत्रसहित सम्मान गरिएको थियो । नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भनाइ गरेका थियो । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

निर्वाचन : निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सीट सङ्ख्या टुंगो लगाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरिबाट प्राप्त समानुपातिक मतमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने ६ वटा राजनीतिक दलबीच ११० सीट बाँडफाँट गरिएको हो। पछिल्लो परिणाम अनुसार ५१ लाख ८३ हजारभन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सीट प्राप्त गरेको छ। यस्तै, निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण तथा सो विवरण सार्वजनिक गरेको जानकारी गराउन अनुरोध गरेको हो । 

समाचार : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ। पार्टी बैठकमै बोल्ने क्रममा अचानक ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यता, सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको हो। यस्तै, पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अपराध : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङ रहेका छन्। यता, एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।  भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो । यता, जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् । यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । यता, बलात्कारपछि हत्या गरिएकी इनिशा बिकको शव आफन्तले बुझ्न नमान्दा ६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा छ । सुर्खेतको उषा बालवाटीका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकाले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शब नबुझ्ने अडान राखेका छन् ।

अर्थ : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ५ मा अज्ञात रोगका कारण एकैसाथ १५ वटा बङ्गुर मरेपछि स्थानीय किसानहरूमा त्रास फैलिएको छ । केही दिनको अन्तरालमा ठूलो संख्यामा बङ्गुर मरेपछि व्यवसाय नै संकटमा परेको भन्दै कृषकहरू चिन्तित बनेका हुन् । यता,  बजारमा देखिएको ग्यास अभावलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले नयाँ उपाय अपनाएको छ। निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास पठाउने निर्णय गरेको हो। निगमका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न सक्नेछन्। यसरी वितरण गर्दा सीमित ग्यास धेरै उपभोक्तासम्म पुर्‍याउन सकिने अपेक्षा गरिएको छ। यस्तै, साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार बिहीबार भने सुधारिएर बन्द भएको हो । बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले वृद्धि भएका छन् । यस्तै, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन् । सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

खेलकुद : अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा विश्वकपमा सहभागी हुन नसकिने बताएका हुन् । यता, पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय एकदिवसीय छनोट प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा रोहित चन्दको शतकमा कास्कीले बागलुङलाई २५४ रनले पराजित गर्यो । यस्तै,  विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’अन्तर्गतको अफिसियल प्रतियोगिताका रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा १०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बुले, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्चमा विश्वभरि प्रतियोगिता भइरहेको बताए ।

विश्व : इरानले संयुक्त राज्य अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ। युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहेका बेला तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धबाट भएको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने कडा अन्तर्राष्ट्रिय ग्यारेन्टी नदिइएसम्म संघर्ष रोक्न नसकिने स्पष्ट पारेको छ। यस्तै, मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ । अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । यता, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक, होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने इरानको धम्कीले युरोपेली ऊर्जा बजारहरूमा धक्का दिएको छ । जसका कारण जर्मनीमा पेट्रोलको मूल्य प्रति लिटर २.३० युरोभन्दा माथि पुगेको छ, भने डिजेलको मूल्य अझ बढेको छ । खाडी र ओमानको बीचमा अवस्थित, होर्मुज जलडमरूम खाडीबाट खुला महासागरमा जाने एक मात्र समुद्री मार्ग हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update