काठमाडौं - अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राहदानी फिर्ता गरेका छन् । मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
समाचार: भावी प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले ६ जना सर्वोच्च अदालतका न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ। स्रोतका अनुसार वर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण चैत १८ गते अवकाशमा जान लागेपछि उक्त पदका लागि योग्य ठहरिएका ६ जना न्यायाधीशको सूची परिषद्ले पठाएको हो। सिफारिस गरिएका न्यायाधीशमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन्। यता, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् । सर्वोच्च अदालतले आज गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताएका हुन् । यस्तै, जिपले च्यापेर यहाँको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ । सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए । यता, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजनीति : प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ । यस्तै, प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ । प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा सहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् । मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् । यस्तै, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशको समस्या आन्दोलन र घोषणा नभई समस्याको जड कार्यान्वयनको कमजोरी रहेको भन्दै काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका हुन् । यता, गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे।
अपराध : प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए । यस्ता, प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए । यता, काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट पेस्तोलसहित एक सय राउन्ड गोली बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा स्थित पहेँलो पुल नजिक खोला किनारबाट खोजतलासका क्रममा उक्त हतियार र गोली फेला पारिएको हो।
खेलकुद : राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । यता, नेपालमा इन्लाइन स्केटिङ खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६ आयोजना गरिने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।
विश्व : पश्चिम केन्यामा सोमबार राति भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीले मङ्गलबार यस जानकारी पुष्टि गरेको छ । दुर्घटना स्थानीय समय अनुसार राति करिब ९:४५ बजे वेबुये–किटाले राजमार्गको मलाहा क्षेत्रमा भएको थियो । यता, मध्यपूर्वमा जारी युद्धका कारण लेबनान मा ठूलो मानवीय संकट उत्पन्न भएको छ। इजरायलका हवाई हमलापछि करिब सात लाख मानिस एक साताभित्रै आफ्नो घर छोड्न बाध्य भएका छन्। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएको बताएकी छन्। उनका अनुसार करिब एक लाख २० हजार मानिसहरू सरकारद्वारा तोकिएका सामूहिक शरणस्थलमा बसिरहेका छन् भने अन्य धेरै आफन्त, साथीभाइको घरमा वा सुरक्षित बसोबासको खोजीमा रहेका छन्। यस्ता भ्लादिमिर पुटिन ले युरोपेली देशहरूले सकारात्मक संकेत दिए रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन्। रूसका राष्ट्रपति पुटिनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा ऊर्जा आपूर्ति दुवै पक्षका लागि लाभदायी हुने बताएका हुन्। सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले युरोपेली कम्पनीहरू र ऊर्जा खरिदकर्ताहरू दीर्घकालीन तथा दिगो सहकार्यतर्फ अघि बढे रूस त्यसका लागि खुला रहने उल्लेख गरे।

