पोखरा - म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन पोखरामा आफ्नै किताब बिक्री अभियानमा जुटेका बेला एक व्यक्तिसँग छोटो भनाभन भएको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।
भिडियोमा हेलमेट लगाएका एक व्यक्तिले पुनलाई ‘जनताले चाहेको काम गर्नुस्, यो तपाईंको काम होइन’ भन्दै प्रश्न गरेको देखिन्छ। ती व्यक्तिले ‘कारखाना चलाउने भए किन सभासद बन्नुभयो ? किताब बेच्नु तपाईंको काम हो ?’ भन्दै जिज्ञासा राखेका छन्।
त्यसको जवाफमा पुन भने किताबमा हस्ताक्षर गर्दै किताब बिक्रीबाटै कारखाना सञ्चालनका लागि रकम जुटाउने प्रयास गरिरहेको बताएका छन्।
पूर्व शिक्षामन्त्री पुनले पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा चुनाव लडेका थिए। उनले म्याग्दीबाट २२ हजार ८५० मत ल्याएर विजय हासिल गरेका हुन्।
सोमबार बिहान उनले सामाजिक सञ्जालमार्फत पोखराका विभिन्न स्थानमा आफूले किताब बिक्री गर्ने जानकारी सार्वजनिक गरेका थिए। उनले चुनावअघि किताब बेच्ने योजना भए पनि निर्वाचन अवधिमा अनुमति नपाएको उल्लेख गर्दै अहिले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन किताब बिक्री अभियान चलाइरहेको बताएका छन्।
उक्त भिडियो सार्वजनिक भएपछि सांसद पुनको गतिविधिबारे सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न प्रतिक्रिया देखिएका छन्।

