बाजुरा - बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गरेका छन् भने नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४ सय २४ प्राप्त गरेका छन्।
त्यस्तै क्रमश :केशर शाहीले हलो चिन्हमा ३ सय ५२, दिपक डिसिले आँखा चिन्हमा ९७, भुपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ७२ मत पाएका छन् ।
विजयी गिरी नेपाल सरकारका पूर्व भुमिसुधार सहायक मन्त्री समेत हुन् । बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४२ हजार ६५ मत खसको थियो । एक निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिष्प्रर्धामा थिए ।
बाजुरामा यो निर्वाचन ऐतिहासिक नमुना मतदान समेत भएको थियो । बाजुरामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र थिए । प्रत्यक्षतर्फको मतगणना सम्पन्न पश्चात् समानुपातिक तर्फका मतगणना गरिने मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए ।
बाजुरामा विगतका निर्वाचनको परिणाम अनुसार वि.सं.२०४८, २०५६, २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेसले नतिजा आफ्नो कब्जामा पारेको थियो।
त्यस्तै, वि.सं.२०५१, २०७० र २०७४ सालमा नेकपा एमालेले जितेको थियो । पुनः २०८२ को निर्वाचन नेपाली कांग्रेसले जितेको छ । यस अघि २०७९ सालमा समते कांग्रेसले जित हात पारेको थियो ।
त्यसवेला कांग्रेसका ब्रदीप्रशाद पाण्डे विजयी भएका थिए । उनले ३१ हजार ७ सय ८६ मत ल्याएर एमालेका कर्णबहादुर थापालाई पराजित गरेका थिए । थापाले २६ हजार ३४९ मत प्राप्त गरेका थिए । निर्वाचन जितेका पाण्डे नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत बनेका हुन्। बाजुरामा पुरानै दलहरुले आफ्नो बर्चस्व कायम राखेका छन् ।
विजयी कांग्रेस गिरी को हुन ?
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका गिरी बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थायी बासिन्दा हुन् । गिरी कांग्रेसको अनुभवी नेताको रूपमा परिचित छन् । उनलाई पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासँग सिधै संवाद राख्ने नेताको रूपमा लिइन्छ ।
गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन् । उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमि सुधार तथा सहायक मन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन् ।
विकासवादी, सादगी र निष्कलङ्क छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ । उनले समावेशी न्याय,लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका विषयमा आवाज बुलन्द गर्दै आएका छन् । २०४६ साल देखि निरन्तर राजनीति क्षेत्रमा सक्रिय छन्।
बाजुरा -१ को मत अपडेट :-
जनक राज गिरी (नेपाली कांग्रेस) = 17,173 (विजयी)
लाल बहादुर थापा (नेकपा_एमाले) = 16,633
हेमराज थापा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 6,035
प्रकाश वहादुर शाह (नेपाली कम्युनिष्ट पार्टी) = 3,428
केशरबहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 334
भुपेन्द्र ल्वार (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 220
दिपक कुमार डि.सी. (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 96
उपेन्द्र शाही (स्वतन्त्र) = 72
जम्मा मतदाता : ८७,८५९ [४५,४२८ पुरुष र ४२४३१ महिला]

