Harsamaya
फागुन १८ : आज रातिबाट मौन अवधि सुरु हुने देखि इरान–इजरायल युद्धको प्रभाव सम्म
ग्राफिक्सः हर समय/harsamaya

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरकारले सुझाव माग गरेको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको राजस्व परामर्श समितिले यस्तो सुझाव माग गरेको हो । राजस्व सचिवको संयोजकत्वमा गठित समितिले आगामी चैत ३० गतेभित्र सुझाव दिइसक्न भनेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

मौन अवधि : आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

गाडी दुर्घटना : रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघु टारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्कीको अपिल : प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन् । सोमबार भिडियो सन्देश जारी गर्दै उनले होली पर्व संयमित रूपमा मनाउन पनि सबैलाई आग्रह गरेकी हुन् । देश इतिहासको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनले नागरिकको भविष्य निर्धारण गर्ने बताए ।

राष्ट्रपति पौडेलद्वारा राष्ट्रका नाममा सम्बोधन : राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी हुन आह्वान गरेका हुन्।

पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड : काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ । शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ । जसकका कारण सवारी धनीहरु इन्धन भर्न लामबद्ध हुने गरेका हुन् । 

इरान–इजरायल युद्धको प्रभावः इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत देखिएको छ । इरानसँग प्रत्यक्ष व्यापार न्यून भए पनि रोजगारीका लागि खाडी मुलुकमा रहेका नेपाली र इन्धनका लागि भारतमार्फत हुने आपूर्तिमा अत्यधिक निर्भरता नेपालका लागि मुख्य जोखिम बनेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २५–३० प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update