सिराहा - सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ ।
वडा नम्बर २ मा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १२० जना नेता तथा कार्यकर्ता रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई आयोजित एक कार्यक्रमका बिच पार्टीका स्थानीय नेतृत्वले स्वागत गरेका थिए । कार्यक्रममा वक्ताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र पारदर्शिता, सुशासन तथा विकासको एजेन्डा बोकेको पार्टीप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।
नवप्रवेश गर्नेले पूराना दलहरूमा रहेर अपेक्षित परिवर्तन नदेखिएको, जनताको समस्या समाधानमा प्रभावकारी पहल नभएको र नयाँ सोचसहित अघि बढिरहेको रास्वपाबाट आशा जागेको बताएका छन् ।
उनीहरूले अब गोल बजार–२ सहित समग्र सिराहा क्षेत्र नम्बर ३ मा संगठन विस्तार र जनतामाझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशलाई महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । ठूलो सङ्ख्यामा भएको यो प्रवेशले आगामी दिनमा सिराहा क्षेत्र नम्बर ३ को राजनीतिक समीकरणमा थप प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
रास्वपाले पनि जनताको विश्वासलाई सम्मान गर्दै विकास, सुशासन र उत्तरदायित्वको राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहो¥याएको छ । (राहुल राय)

