Harsamaya
होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले  फागुपूर्णिमा अर्थात होलीले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

होली पर्वको  अवसरमा  शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि  शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेम भाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

उनले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबिचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update