काठमाडौं - मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।
कोइरालाले आइतबार एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा उत्पन्न तनावले विश्व शान्ति मात्रै नभई मानवीय तथा आर्थिक संकट निम्त्याउने खतरा बढेको बताएका छन्। उनले विशेषगरी रोजगारीका लागि मध्यपूर्वका विभिन्न देशमा पुगेका लाखौँ नेपालीको सुरक्षाप्रति आफू चिन्तित रहेको उल्लेख गरेका छन्।
उनले नेपाल सरकारलाई कूटनीतिक पहलमार्फत त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। परिस्थितिको संवेदनशीलता हेरी आवश्यक परेमा उद्धार तथा पुनर्स्थापना प्रक्रिया अघि बढाउन र मध्यपूर्वमा रहेका नेपालीहरूका लागि विशेष सञ्चार संयन्त्र स्थापना गर्न पनि उनले सुझाव दिएका छन् ।
यसैबीच कोइरालाले द्वन्द्वमा संलग्न सबै पक्षलाई संयमता अपनाउँदै शान्तिपूर्ण संवाद र कूटनीतिक वार्तामार्फत दीगो समाधान खोज्न आग्रह गरेका छन्। उनले विश्व शान्ति र स्थिरताका लागि अन्तर्राष्ट्रिय समुदायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

