जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने देखिएको जनाएको छ । आज साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसम ढाँचाबाट प्राप्त मौसमी तथ्याङ्कहरुको विश्लेषणका आधारमा आसन्न निर्वाचनको समयमा खास उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब: तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
होली पर्व मनाउन निषेध: जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासनले फागुन १८मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली) सार्वजनिक ठाउँमा खेल्न निषेध गरिएको जानकारी दिएको हो । ‘चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जवरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण: नेकपा एमालेका महासचिव तथा पुर्व मन्त्री शंकर पोखरेलले बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् । चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् ।
पेट्रोलियम पदार्थको बिक्रीमा रोक: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो ।निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्रीवितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । जिल्ला सुरक्षा समितिको बैठकअनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोलपम्प तथा व्यवसायी अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्ने र दर्ता नभएका व्यक्ति वा संस्थाले पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न नपाउने गरी रोक लगाइएको उनले जानकारी दिए ।
सुनको मूल्यमा सामान्य गिरावट: नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५०० ले घटेर ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

