मेलम्ची- प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालय को ३४औँ वार्षिकोत्सवको अवसरमा “प्रगति साहित्य सम्मान–२०८२” बाट इन्द्रावती गाउँपालिका–४ का बाल साहित्यकार नेत्र तामाङ सम्मानित भएका छन्।
बाल साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप तामाङलाई सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ। तामाङले बाल साहित्यमा कलम चलाउन थालेको १४ वर्ष भइसकेको छ। लामो समयदेखि बालबालिकाको सिर्जनात्मक विकास र साहित्यिक चेतनाका लागि निरन्तर क्रियाशील रहँदै आएका तामाङलाई जिल्लामै पहिलो पटक सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै तामाङले जिल्लावासीको नाताले पहिलो पटक यस्तो सम्मान पाउँदा आफू अत्यन्त खुसी भएको बताए। सोही अवसरमा नेपाल आइडल सिजन-६ की विजेता गङ्गा सोनामलाई पनि विशेष सम्मान गरिएको थियो। साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदान र राष्ट्रिय स्तरमा पहिचान स्थापित गरेको कदर स्वरूप विद्यालयले उनलाई सम्मान गरेको हो।
वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूको शैक्षिक तथा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

