काठमाडौं - जेनजी आन्दोलनका क्रममा हजारौँ निःशस्त्र युवा प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न आदेश नेपालका पूर्व प्रहरी प्रमुखले दिएको भन्ने खुलासा बीबीसीको अनुसन्धानले गरेको छ।
बीबीसीका अनुसार ८ सेप्टेम्बरमा काठमाडौँमा भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो। मृतकमध्ये विद्यालयको पोशाकमा रहेका एक किशोर पनि थिए, जो भीडबाट टाढा हिँड्दै गर्दा पछाडिबाट टाउकोमा गोली लागेर मृत्यु भएको अनुसन्धानले देखाएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका थिए।
बीबीसी वर्ल्ड सर्भिसको टोलीले प्राप्त गरेको आन्तरिक प्रहरी कागजातमा कर्फ्यु लागू भएको १० मिनेटपछि ‘पिटर १’ भन्ने कोडनेम प्रयोग गर्ने अधिकारीले ‘आवश्यक बल प्रयोग गर्न’ निर्देशन दिएको उल्लेख छ। स्रोतहरूका अनुसार ‘पिटर १’ नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङको कोडनेम थियो।
खापुङले आदेश दिएको कुरा अस्वीकार नगरे पनि नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको अनुमति र अन्य सबै उपाय प्रयोग गरिसकेपछि मात्र कानुनअनुसार घातक बल प्रयोग गरिएको दाबी गरेको छ। हालसम्म उनले बीबीसीको प्रतिक्रिया अनुरोधको जवाफ दिएका छैनन्।
बीबीसीले विश्लेषण गरेको भिडियो प्रमाणअनुसार १७ वर्षीय श्रेयम चौलागाईं निःशस्त्र थिए र घटनास्थल छोड्ने प्रयास गरिरहेका बेला उनको मृत्यु भएको थियो।
८ सेप्टेम्बरका घटनाबारे अहिले सार्वजनिक छानबिन भइरहेको छ, तर अहिलेसम्म कसैलाई पनि जिम्मेवार ठहर गरिएको छैन। यसबीच ५ मार्चमा आम निर्वाचन हुने तयारी भइरहेको छ।
बीबीसीले ४ हजार भन्दा बढी भिडियो र तस्बिर, प्रत्यक्षदर्शी तथा कमाण्ड सेन्टरमा रहेका सुरक्षाकर्मीका विवरण विश्लेषण गरेर घटनाक्रम पुनर्निर्माण गरेको जनाएको छ।
नेपाल २००८ मा गणतन्त्र बनेको युवा लोकतन्त्र हो। दशकौँअघि समाप्त भएको गृहयुद्धमा १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। नयाँ संविधानपछि पनि धेरै युवाहरूको अपेक्षा पूरा नभएको भन्दै असन्तुष्टि बढ्दै गएको बताइएको छ। बेरोजगारी पनि ठूलो समस्या रहेको छ, जहाँ अनुमानअनुसार पाँचमध्ये एक युवा बेरोजगार छन्।
सामाजिक सञ्जालमार्फत सुरु भएको असन्तुष्टि जेनजी आन्दोलनका रूपमा सडकमा पुगेको थियो। गत अगस्टमा युवाहरूले ‘नेपो बेबी’ जस्ता शब्द प्रयोग गर्दै राजनीतिक र आर्थिक शक्तिमा रहेका परिवारका सन्तानलाई आलोचना गर्न थालेका थिए। ४ सेप्टेम्बरमा सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्सजस्ता प्लेटफर्ममा प्रतिबन्ध लगाएपछि आन्दोलनकारीहरू डिस्कोर्डजस्ता प्लेटफर्ममार्फत संगठित भएका थिए।
उक्त प्लेटफर्ममा ‘युथ एगेन्स्ट करप्सन’ नामक समूहले ८ सेप्टेम्बरमा संसद् भवन बाहिर प्रदर्शन आयोजना गर्ने योजना बनाएको पनि बीबीसीले उल्लेख गरेको छ।

