Harsamaya
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचार मुद्दा: १३ जनाविरुद्ध पेसी तोकियो
विशेष अदालत । तस्विर: हर समय/Har Samaya

काठमाडौं - विशेष अदालतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. सङ्गीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासमा मुद्दा सुनुवाइ हुने भएको हो।

यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै गत असोज २३ गते दर्ता गरेको थियो। आयोगले उपकुलपति भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाएको छ।

मुद्दामा तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डी.सी. र श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी तथा वरिष्ठ सहायक अन्जु शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

यसैगरी स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. र त्यसका अध्यक्ष पोष्टराज ज्ञवालीलाई समेत प्रतिवादी बनाइएको छ।

आयोगले सबै प्रतिवादीबाट कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गरी सजाय माग गरेको छ। साथै हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुलउपर गर्न पनि मागदाबी गरिएको छ।

अख्तियारका अनुसार कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी आर्थिक अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा प्रतिष्ठानका पदाधिकारी र आपूर्तिकर्ता कम्पनीबीच मिलेमतोमा भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो। आयोगले प्रतिष्ठानले खरिद गुरुयोजना र आवश्यकता पहिचान नगरी बजेट माग गरेको तथा सार्वजनिक खरिद ऐन विपरीत निश्चित कम्पनीलाई मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारेको आरोप लगाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update