सिन्धुपाल्चोक - पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ भोटेनाम्लाङमा आयोजित कोणसभामा विभिन्न पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसमा प्रवेश गर्नेहरू यसअघि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेका थिए । उनीहरूले ती पार्टीहरू परित्याग गरी कांग्रेसको नीति, विचार र विकासप्रतिको प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै प्रवेश गरेको बताएका छन् ।
प्रवेश गर्नेहरूमा सानू तामाङ, साईला तामाङ, भिमे तामाङ, पेम्बा तामाङ, माईला थोककर, साईला थोककर, बक्तु थोककर, दोर्जे तामाङ, साना बोम्जन, कदम तामाङ, भिमलाल लामा र कृष्ण दास श्रेष्ठ रहेका छन्।
कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, सिन्धुपाल्चोकका उम्मेद्वार बंशलाल तामाङले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए। उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माणको तीव्रता र पाँचपोखरी क्षेत्रको समग्र उन्नतिका लागि कांग्रेसलाई अझ सशक्त बनाउँदै लैजान आवश्यक रहेको बताए।
उम्मेद्वार तामाङले भोटेनाम्लाङ लगायत विकट बस्तीहरूमा सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै जनताको साथ र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।
कोणसभामा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवप्रवेशीहरूले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस प्रवेशसँगै पाँचपोखरी–७ भोटेनाम्लाङमा नेपाली कांग्रेसको संगठन थप मजबुत बनेको स्थानीय नेताहरूको भनाइ छ।

