काठमाडौं - नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का बंशलाल तामाङले जनताको स्वाभिमानमा चोट नपुग्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेस मेलम्ची नगरपालिका–६ तालामाराङ काठमाडौं सम्पर्क समितिको आयोजनामा काठमाडौंमा सम्पन्न कार्यक्रममा बोल्दै तामाङले पाँच वर्षभित्र सिन्धुपाल्चोकलाई समृद्ध बनाउने स्पष्ट योजना आफूले अघि सारेको बताए।
उनले १० बुँदे संकल्पपत्रमार्फत जिल्लाको दिगो विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
‘सिन्धुपाल्चोकको वास्तविक अवस्था हामीलाई थाहा छ, विकासको खाका पनि स्पष्ट छ’, उनले भने, ‘म विधायिकाको भूमिका जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा निर्वाह गर्न सक्छु।’ उनले हाल जिल्लामा कांग्रेसको माहोल सकारात्मक बन्दै गएको र आफूहरू अग्रस्थानमा रहेको दाबी गरे।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शिव बहादुर सुनारले विगतदेखि कांग्रेसले समान विकास र सामाजिक न्यायका पक्षमा काम गर्दै आएको उल्लेख गरे । उनले विगतका कमी–कमजोरी स्वीकार्दै अब योग्यता, क्षमता र दक्षताका आधारमा पार्टी सञ्चालन हुने बताए।
एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका कृष्ण थापाले सिन्धुपाल्चोक क्षेत्र नं. २ का लागि बंशलाल तामाङ नै योग्य उम्मेद्वार भएको दाबी गरे। उनले कांग्रेसलाई नागरिकको पार्टीका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै आफू ढुक्कका साथ कांग्रेस जिताउन लागिपर्ने बताए।
कार्यक्रममा पाँचपोखरीदेखि इन्द्रावती हुँदै चौतारासम्म चुनावी अभियान विस्तार गरिने जानकारी दिइएको थियो। कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो।

