Harsamaya
नाइजेरियामा सशस्त्र आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

एजेन्सी - नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यस्थित दुत्से दान अजिया गाउँमा हतियारधारी समूहको आक्रमण हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई उक्त जानकारी दिएका हुन्।

जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरका अनुसार आक्रमण बिहीबार रातिदेखि शुक्रबारसम्म दुर्गम गाउँमा भएको थियो, जहाँ पुग्ने बाटो पनि सीमित छन्। हाल भने अवस्था सामान्यतर्फ फर्किएको बताइएको छ।

स्थानीय विधायक हामिसु फारुले आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका व्यक्त गरेका छन्। उनका अनुसार गान्दो जंगलबाट आएका डाँकु समूहले गाउँलाई घेरा हालेर अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणपछि भाग्न खोज्ने धेरै स्थानीय बासिन्दा मारिएका बताइएको छ।

स्थानीय रूपमा ‘डाँकु’ भनिने सशस्त्र गिरोहहरूले जाम्फारा, कात्सिना, कडुना, सोकोटो, केब्बी र नाइजर राज्यका जंगल क्षेत्रमा आधार बनाएर गाउँहरूमा बारम्बार आक्रमण गर्दै आएका छन्। यी समूहविरुद्ध नाइजेरियाली सेना लामो समयदेखि परिचालन भए पनि हिंसा भने अझै जारी छ।

यसैबीच, सन् २००९ यता बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिकी प्रान्तको नेतृत्वमा भइरहेको जिहादी विद्रोहका कारण देशको उत्तरपूर्वी क्षेत्रमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन्।
 

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update