Harsamaya

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामाले चुनावी अभियानलाई तीव्र बनाएका छन् । हालै ५४ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेर काठमाडौं आएका उनले मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको बताएका छन् ।

हर समयसँगको कुराकानीमा उनले घरदैलोका क्रममा आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीसँग प्रत्यक्ष भेटघाट गर्दा सकारात्मक ऊर्जा पाएको उल्लेख गरे । ‘संगठनको अवस्था राम्रो छ, जनप्रतिनिधिहरूले गरेका कामका कारण कांग्रेसप्रति जनताको भरोसा बलियो देखिएको छ,’ उनले भने ।

घरदैलो अभियानका क्रममा मतदाताले विगतका जनप्रतिनिधिहरूप्रति केही गुनासा पनि राखेको उनले बताए । चुनावअघि घरदैलो गर्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति असन्तुष्टि रहेको उनको भनाइ छ । आफू भने वडा इकाइदेखि जिल्ला तहसम्म सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै उनले नयाँ अनुहार र जिम्मेवार प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

पार्टीभित्रको सहकार्यबारे सोधिएको प्रश्नमा उनले पूर्वमन्त्री तथा नेता मोहन बहादुर बस्नेतसँग पूर्ण समन्वय रहेको बताए । ‘उहाँ हाम्रो अभिभावक र नेता हुनुहुन्छ । बाहिर सुनिने हल्लामा सत्यता छैन, हामी अहिले पार्टीको चार तारे झण्डामा विश्वास गर्ने हो, रुख चिन्हमा विश्वास गर्ने हो । त्यसैले बस्नेत दाई हाम्रो अभिभावक भएको कारणले पार्टीमा बाहिर सुनेको जस्तो अवस्था छैन । मनमुटाव केहि पनि छैन,’ उनले भने ।

टिकट वितरणका समयमा मतभेद देखिए पनि निर्वाचनमा पार्टी एकढिक्का भएर अघि बढ्ने परम्परा रहेको उनको दाबी छ । पछिल्लो समय उदाएका नयाँ दलहरूबारे उनले खास चुनौती महसुस नभएको बताए । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने पार्टी नै सफल हुने उनको भनाइ थियो । साथै प्रतिस्पर्धी उम्मेदवारहरूलाई ‘नयाँ’ भन्दा पनि पुरानै राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू भएको टिप्पणी गरे ।

सिन्धुपाल्चोक भौगोलिक रूपमा संवेदनशील जिल्ला भएकाले बाढी–पहिरो नियन्त्रण, सडक सञ्जाल विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताए । भूकम्प र प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रहरूमा दीर्घकालीन योजना आवश्यक रहेको उनको धारणा छ ।

उनका मुख्य एजेन्डामा सुशासन, विकास निर्माणको प्रभावकारी अनुगमन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, कृषि र पर्यटन प्रवद्र्धन रहेका छन् ।

Junga-bahadur-lama-1771586196.jpg
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामा । तस्वीर: हर समय/Har samaya

मुडे आलु, कफी खेती तथा जुगल हिमाल, त्रिपुरासुन्दरी मन्दिर र तातोपानी नाकाजस्ता पर्यटकीय क्षेत्रको व्यवस्थित विकासमा जोड दिने उनले बताए । तातोपानी नाकालाई वर्षभरि नियमित सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

‘शिक्षा र स्वास्थ्य सेवामा सुधार आवश्यक छ । कृषि क्षेत्रमा मुडे आलु, कफी खेतीजस्ता सम्भावनालाई प्रोत्साहन गरिनेछ । पर्यटनतर्फ जुगल हिमाल, त्रिपुरासुन्दरी माई, गौरती भीमसेन तथा तातोपानी क्षेत्रको प्रवद्र्धन गरिनेछ,’ उनले भने ।

युवा तथा खेलकुद क्षेत्रमा रोजगारी सिर्जना, खेल मैदान निर्माण र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ । प्राकृतिक विपद् न्यूनीकरणका लागि केन्द्रबाट बजेट विनियोजन गराएर दीर्घकालीन व्यवस्थापन गर्ने उनले बताए ।

सिन्धुपाल्चोकमा पार्टी संगठन बलियो रहेको उल्लेख गर्दै उनले क्षेत्रका ५४ वडामध्ये ३२ वडामा कांग्रेस विजयी भएको तथ्य प्रस्तुत गरे । जनप्रतिनिधिहरूले गरेका कामकै आधारमा यस पटक पनि कांग्रेसले जित्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘महाधिवेशनपछि पार्टी नयाँ रूपान्तरणसहित अघि बढेको छ । त्यसैले सिन्धुपाल्चोकमा कांग्रेसको जित निश्चित छ,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update